सल्यान, २५ फागुन ।
सल्यानका तीन वटा पालिकामा पुनः कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । यही फागुन २८ र २९ गते जिल्लाको शारदा नगरपालिका, कालिमाटी गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । कर्णाली प्रदेशका भुकम्प प्रभावित र कोभिड–१९ खोपको कभरेज कम भएका जिल्लाहरुमा परिवार कल्याण महाशाखाको निर्देशन र ईपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।
बिहीबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न जिल्ला खोप समन्वय समितीको बैठकमा जिल्लाका तीन पालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिइएको हो । नेपालमा पनि कोभिड–१९ को नयाँ भेरिएन्ट जेएन–१ देखा परेकाले खोपको कभरेज कम भएका र नागरिकको भिडभाड बढी हुने पालिकामा दुई दिन खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
प्राप्त तथ्यांक अनुसार जिल्लाभर कोभिड–१९ खोपको पहिलो डोज ७६ प्रतिशत, दोस्रो डोज ८० प्रतिश, पहिलो बुस्टर खोप ३९ प्रतिशत र दोस्रो बुस्टर खोप ६ प्रतिशत नागरिकले मात्र लगाएको उल्लेख छ । कार्यालयका खोप कार्यक्रम अधिकृत तारा रिजालले छिमेकी देश भारत र चिनमा समेत कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको र नेपाल समेत जोखिममा रहेकाले हाल तीन पालिकामा खोप सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
तीन वटै पालिकामा खोप कार्यक्रम विद्यालयको बालबालिकाबाट सुरु गरेर समुदायस्तरमा जाने उहाँको भनाई छ । जसमा शारदा नगरपालिकामा ३ सय ५० भायल, कालिमाटी गाउँपालिकामा २ सय ५० भायल र सिद्ध कुमाख गाउँपालिकामा १ सय ५० भायल फाइजर खोप वितरण गरिएको छ । यसअघि कोभिशिल्ड, भेरोसेल लगाएतका बिभिन्न खोप लगाएकाले पनि यो खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
१२ बर्ष माथि हालसम्म कुनै पनि खोप नलगाएका व्यक्तिले फाइजर खोप लगाउन मिल्ने छ । यस्तै पहिलो शृंखला पुरा गरेका ५५ वर्ष माथिका बुस्टर लिन बाँकी व्यक्तिहरु, पहिलो बुस्टर खोप लगाउन बाँकी रहेका सबै स्वास्थ्यकर्मीहरु, दीर्घरोगी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, वैदेशिक रोजगारमा जाने व्यक्तिहरु, पहिलो खोप लगाएकाले दोश्रो खोपको रुपमा, पूर्ण मात्रा खोप लगाएको ३ महिना पुरा भएकाहरुको लागि पनि यो खोप दिइने छ ।
जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले सबै नागरिकको पहुँच पुग्ने गरि खोप केन्द्र राख्न र नागरिकलाई खोप लगाउने कार्यमा प्रोत्साहित गर्ने गरि सुचना सम्प्रेषण गर्न सुझाव दिनुभएको छ । बैठकमा जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, जिल्ला समन्वय अधिकारी निम बहादुर वली, स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. अभिषेक सिंह लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।
बैठकको सहजीकरण स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।