सल्यान, २७ फागुन ।
सल्यानमा साढेँ २० हजार बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् । फागुन १० गते देखी १४ गतेसम्म पहिलो चरणमा र फागुन १८ गते देखी २२ गतेसम्म दोस्रो चरणमा गरेर जिल्लामा सञ्चालित दादुरा रुबेला खोप अभियानमा जिल्लाभर २० हजार ५ सय ७३ जना बालवालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका हुन् । जिल्लाभर १९ हजार ५ सय ३० बालवालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।
तर लक्ष्य भन्दा ५ प्रतिशत बढी अर्थात थप एक हजार ४३ बालवालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप कार्यक्रम अधिकृत तारा रिजालले जानकारी दिनुभयो । ‘दादुरा रुबेला खोप अभियान सफलता पुर्वक सम्पन्न भएको छ, यसपटक हामीले लक्ष्यभन्दा ५ प्रतिशत बढी बालबालिकालाई खोप लगाउन सफल भएका छौँ’ उहाँले भन्नुभयो ।
जिल्लामा रहेका ९ महिना देखी ५ बर्षमुनीका बालबालिकालाई खोप अभियानमा समाबेश गरिएको उहाँको भनाइ छ । दादुरा रुवेलाको संक्रमणलाई न्यूनिकरण गर्न तीन नगरपालिका र सात गाँउपालिका रहेको सल्यानमा ५ सय ५४ केन्द्रबाट खोप लगाउने व्यवस्था गरी सोहीअनुसार अभियान सञ्चालन भएको थियो । खोप अभियानमा जिल्लाभर ५ सय ५४ जना स्वास्थ्यकर्मी र एक हजार एक सय ८ जना स्वयंसेवक परिचालन भएका थिए ।
कार्यालयका अनुसार जिल्लाको कपुरकोट गाउँपालिकामा ९ महिनादेखी ५ बर्षमुनीका १ हजार ४ सय ६५ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ३ सय २० बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लगाएका छन् । यस्तै त्रिबेणी गाउँपालिकामा १ हजार २ सय १९ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ३ सय ९६, कालिमाटी गाउँपालिकामा १ हजार ८ सय ८२ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ८ सय १३ बालबालिकाले खोप लगाएका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा १ हजार ६ सय ५३ लक्ष्य रहेकोमा १ हजार ७ सय ८० जना बालबालिका, शारदा नगरपालिकामा २ हजार ५ सय ५ लक्ष्य रहेकोमा २ हजार ६ सय ८३ जना बालबालिका, बन्गाड कुपिण्डे नगरपालिकामा २ हजार ९ सय ४७ लक्ष्य रहेकोमा ३ हजार १ सय ३१ जना बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा १ हजार ८ सय ४० लक्ष्य रहेकोमा १ हजार ७ सय ७७ जना बालबालिका, कुमाख गाउँपालिकामा २ हजार १ सय ८२ लक्ष्य रहेकोमा २ हजार २ सय ५२ जना बालबालिका, सिद्ध कुमाख गाउँपालिकामा १ हजार ८२ लक्ष्य रहेकोमा १ हजार १ सय ४२ जना बालबालिका र बागचौर नगरपालिकामा २ हजार ७ सय ५५ लक्ष्य रहेकोमा ३ हजार २ सय ८४ जना बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लगाएका छन् ।