महिला उद्यमशिलताका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा जिल्लाको सिद्ध कुमाख गाउँपालिकाको सभाहल ढोरचौरमा एक दिने महिला उद्यमशिलता सम्बन्धि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

सल्यान, २ चैत ।
सल्यानमा महिला उद्यमशिलताका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा जिल्लाको सिद्ध कुमाख गाउँपालिकाको सभाहल ढोरचौरमा एक दिने महिला उद्यमशिलता सम्बन्धि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । तालिममा उद्यमशिलता के हो, उद्यमी कसरी बन्ने, उद्यममा कसरी जोडिने, उद्यममार्फत आयआर्जनका कसरी गर्ने, उद्यमको प्रर्वद्धन, उत्पादित बस्तुको वजारीकरणका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भरत गिरीले हरेक व्यक्ति आर्थिक उर्पाजन र स्वावलम्बी बन्नका लागि उद्यममा जोडिनुपर्ने बताउनुभएको छ । अहिले पनि उद्यम गर्ने र स्वरोजगार बन्दै आर्थिक उपार्जन गर्न तर्फ धेरैले ध्यान नदिएको बताउँदै उहाँले स्थानिय महिलाले उद्यममार्फत उत्पादन गरेका बस्तुको पालिकाले वजारीकरणका लागि सहयोग गर्ने बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले आवश्यक सिप, ज्ञान र तालिम लिएर उद्यममा जोडिन चाहाने महिलालाई पालिकाकाले सहयोग गर्ने बताउनुभयो । कतिपय आवश्यक तालिमको अभावमा पछाडी पर्ने गरेको बताउँदै उहाँले तालिम लिने अवसर प्राप्त गरेकाहरुले अव उत्पादन, उद्यम र रोजगारीमा जोडिनुपर्ने बताउनुभएको हो ।

सामाजिक विकास कार्यालय सल्यानका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रममा शिक्षक दामोदर शर्मा र पत्रकार बुद्धि पुनले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण कार्यालयका प्रशासकिय अधिकृत हरि प्रसाद सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस