सल्यान, ७ चैत ।
सलाई लाईटर जस्ता ज्वलनशिल पदार्थको सही प्रयोगले आगलागीका घटनामा कमी ल्याउन सकिने सरोकारवालाहरुले बताएका छन् । बन डढेलो हुनुमा ९८ प्रतिशत मानविय कारणले नै हुने भएकाले आमउपभोक्ता सचेत रहदैँ सलाई लाईटर जस्ता ज्वलनशिल पदार्थको सही प्रयोग गरेमा जिल्लाका बनक्षेत्रमा हुने आगलागीका घटनामा कमी ल्याउन सकिने उनीहरुले बताएका हुन् ।
डिभिजन वन कार्यालय सल्यानको आयोजनामा सञ्चालित बन पैदावार, चोरी निकासी, बन डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया गोष्ठि तथा जिल्ला वन सुरक्षा समन्वय समितीको बैठकका सहभागिहरुले यस्तो बताएका हुन् । वनजंगलमा डढेलो लागेमा रुखबिरुवा, चराचुरुगीं, जीवजन्तु मात्र नभइ मानिसको समेत ज्यान लिन सक्नेभएकाले आगलागी हुन नदिनको लागि सबै सजक र सचेत हुनुपर्ने उनीहरुको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सचेतनाकै कारण बन आगलागीका घटनामा कमी ल्याउन सकिने भएकाले समयमा नै पुर्वतयारी गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले बन उपभोक्ता समितीका पदाधिकारी तथा उपभोक्ता र आमनागरिकलाई बन डढेलो नियन्त्रण सम्बन्धि सचेतना प्रदान गर्ने, यदी कोही कसैले वनमा आगलागी गरिहालेमा उसलाई हुने कानुनी कारवाही, तथा जैविक र मानबिय क्षेत्रमा पार्ने असरका बारेमा सबैमा सेचतना प्रदान गर्नुपर्ने बताउनुभयो ।
‘अहिले बनजंगल थप घना बन्दै गएको छ, मानवबस्तीहरु खाली हुदैँ गएका छन्, विकास क्रमसँगै नागरिक घाँस, दाउरा, स्याउला गर्न छोड्न थाले, गाउँ गाउँमा ग्याँस पुगेको छ’ उहाँले भन्नुभयो ‘बन बचाउनु पर्छ भन्नेमा केहीको ध्यान नगएको पनि हुनसक्छ, तर वन डढेलोका कारण मानव, वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति समेत हुने गरेको पाईएको छ ।’
उहाँले सल्यान जिल्ला बन डढेलोको उच्च जोखिममा रहेकाले जिल्लामा आगलागी नियन्त्रणका लागि दमकल आबश्यक रहेको बताउनुभयो । ‘जिल्लामा एउटा पनि दमकल नहुनु बिडम्बना हो, बिभिन्न बैठकहरुमा मैले २/३ पटक दमकलको आवश्यकताका बारेमा कुरा पनि राखेको छु’ उहाँले भन्नुभयो ‘दमकल खर्चिलो छ, एउटा पालिका एक्लैले खरिद गर्न सक्ने अवस्था नभए पायक पर्ने पालिकासँग समन्वय गरेर खरिद गर्न सकिन्छ, दमकल जिल्लाको लागि आवश्यकता हो ।’
पछिल्लो पाँच बर्षको तथ्यांक हेर्ने हो भने जिल्लामा बन डढेलोका घटनामा परेर चार जनाको मृत्यु भैसकेको छ । जिल्लाको कुल क्षेत्रफलको ६५ दशमलव ६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २ सय ५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ । जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जीतेन्द्र महतले बताउनुभयो ।
बर्सेनि आगलागीबाट पर्यावरणीय विनाश हुनको साथै करोडौँको भौतिक तथा मानवीय क्षति हुने गरेकाले डढेलो नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा वनमा लागेको डढेलोबाट बस्तीमा समेत क्षति पुग्ने गरेको छ । आगलागीबाट रुखविरुवासँगै वन्यजन्तु तथा वन्यजन्तुको वास स्थान समेत सखाप हुने गरेको उहाँले बताउनुभयो ।
‘डढेलो नियन्त्रणका लागि कार्यालयले काम गरी रहेको छ, विभिन्न निकायसँग समन्वय र प्रचारप्रसारका काम पनि गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘स्थानीय उपभोक्ता र सामुदायिक वन समूह बढी जिम्मेवारी बन्नुपर्छ ।’ डढेलो विरुद्ध सचेतना, अग्नीरेखा निर्माण, अग्नि रेखा सरसफाई लगाएतका कामको शुरुवात गरिएको उहाँको भनाइ छ ।
कार्यक्रमको सहजीकरण कार्यालयका फरेष्टर देवेन्द्र महतले गर्नुभएको थियो ।