सल्यान, ९ चैत ।
सल्यानमा पछिल्लो समय ‘स्ट्रिट फुड’को व्यवसाय फस्टाउँदो छ । बढ्दै गएको शहरीकरण र ग्राहकहरुको आकर्षण बढेको देखेपछि जिल्लामा यस्ता फुडको संख्या बढ्दो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरसँगै खलंगा, थारमारे, कपुरकोट, सल्लीवजार लगाएतका क्षेत्रमा घुम्ती, ठेलागाडा व्यवसाय सञ्चालन गर्ने बढेका छन् । ग्राहकको आर्कषण बढाउन ‘स्ट्रिट फुड’ मा प्राय रङ मिसाउने र पत्रपत्रिका तथा पुराना किताब कापीका पानामा पोको पारेर दिने चलन छ ।
झट्ट हेर्दा आइडिया गजब हो । व्यापारीलाई भाँडा माझ्नु पर्ने झन्झटबाट उन्मुक्ति भने खाने मानिसहरुलाई जुठो वा सफा नभएको भाँडा प¥यो भन्ने चिन्ता नहुने । तर, रङ मिसाएको र मसी प्रयोग गरिएको कागज तथा पत्रपत्रिकामा प्याक गरिएको खानेकुरा सेवन गर्दा क्यान्सर हुन सक्ने देखिएको छ । रसायन तथा माइक्रोबायोजिकल मिसावटका कारण शरीरमा स्लो प्वाइजनिङ्ग हुनसक्ने भएकाले रङ मिसाएको र कागजमा पोको पारिएको खानेकुरा बिक्री गर्न र खान नहुने जनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिहीबार सल्यानको श्रीनगरमा आयोजना गरेको सडक तथा बजार क्षेत्रमा विक्रिका लागि राखिने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरणमा बोल्दै कार्यालयका प्रमुख भेष बहादुर थापाले रङ मिसावट गरिएका र मसी कोरिएको कागजमा क्यान्सर गराउन सक्ने तत्व सामेल हुन सक्ने भएकाले यस्ता खानेकुरा नबेच्न र नखान सुझाव दिनुभएको छ । कच्चा पदार्थ किन्दादेखि ग्राहकलाई पस्कदासम्म हानिकारक तत्वहरु खानेकुरामा आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
‘केही सस्तो र मिठो खानेकुराको रूपमा चाहिँ स्ट्रिट फुड एउटा राम्रो विकल्प हो, त्यस कारणले स्ट्रिट फुड प्वाइजनिङ हुनु भएन्, यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ, राम्रो देखाउनको लागि मिठाइ, जेरी, ललिपप लगाएतमा रङ मिसावट गरिएको र अखबारहरूमा चटपटे, पानीपुरीलगायत प्याक गरेर खाने चलनलाई हटाउनुपर्छ, कहि कतै त्यसो गरेको पाइएमा खाद्य ऐन अनुसार सुधारात्मक, निरोधात्मक र उपचारात्मक कारवाही अघि बढाएका छौँ’ उहाँले भन्नुभयो ।
अधिकांश रोग खानेकुराकै लापरवाहीका कारण हुने भएकाले व्यवसायि सँगै आमउपभोक्ता सचेत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले खानाको स्रोत कृषि उपज र पशुपालन भएकाले उत्पादन देखी ग्रहण गर्दासम्म स्वच्छ हुनुपर्ने बताउनुभयो । सो अवसरमा चिया पसल, चटपटे तथा ठेलाका साथै होटल व्यवसाय गर्नेहरुले आफ्नो पसल सफा राख्नुपर्ने, व्यक्तिगत सरसफाइ साथै भान्सा, भाँडाकुँडा सफा राख्नुपर्ने कुरामा जोड दिइएको थियो । यस्तै स्वच्छ पानी स्वच्छ खाद्य पदार्थमा जोड दिनुपर्ने, खाद्य सामग्री राम्ररी पकाउनुपर्ने, पकाएको र नपकाएको छुट्टै राख्नुपर्ने साथै पकाएको खाद्य सामग्रीलाई उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कुरामा जनचेतना जगाइएको थियो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले खाद्य पदार्थको स्वच्छताका लागि उत्पादक, संचालक गम्भीर बन्नुपर्ने भन्दै नियमनकारी निकायको सक्रियता पनि कडाईको साथ बढाउनुपर्ने बताउनुभयो । स्ट्रिट फुडहरु पस्कने र तयार पार्ने स्वच्छ विधिलाई अभिवृद्धि गर्नका लागि सचेतनाका कार्यक्रम नियमित रुपमा धेरै भन्दा धेरैको सहभागितामा सञ्चालन गर्नुपर्नेमा उहाँको भनाइ छ !
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, शारदा नगरपालिका– १ का वडाअध्यक्ष प्रदिप पाण्डे, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी लगाएतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण कार्यालयका प्राविधिक सहायक कपिल सुवेदीले गर्नुभएको थियो ।