सल्यानमा एसईईको तयारी पुरा : बिद्यार्थी भने बर्षेनी घट्दै

मनमा भएको डर, त्रास हटाइ शान्त, मर्यादित, अनुशासित र निर्भिकताका साथ परिक्षामा सहभागि हुन सबै बिद्यार्थीलाई शिक्षा विकास तथा समन्वय इकाई सल्यानले आग्रह गरेको छ ।

file photo

सल्यान, १४ चैत ।

सल्यानबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाई सल्यानकोे तथ्यांक अनुसार जिल्लामा प्रत्येक वर्ष एसईईका बिद्यार्थी घट्दै गएको देखिएको हो । चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसईईमा गत वर्षभन्दा यस वर्ष ४ सय १ जना कम बिद्यार्थी देखिएका छन् ।

जिल्लाका ८२ वटा सामुदायिक र ८ वटा संस्थागत गरेर जम्मा ९० वटा विद्यालयका ४ हजार ५ सय ८२ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जसमा छात्रा २ हजार ४ सय ७५ जना र २ हजार १ सय ७ जना छात्र परिक्षामा सहभागि हुने छन् । यस्तै साधारण धार तर्फ छात्रा २ हजार ३ सय ३९ र छात्र १ हजार ९ सय १४ जना गरेर जम्मा ४ हजार २ सय ५३ जना बिद्यार्थी सहभागि हुदैँ छन् ।

यस्तै १ सय ६६ जना छात्र र १ सय २६ जना छात्रा गरेर २ सय ९२ जना प्राविधिक धारका बिद्यार्थी रहेका छन् । यस्तै ग्रेड बृद्धि तर्फ छात्र २७ जना र छात्रा १० जना गरेर ३७ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका सुचना अधिकारी कपिल कुमार जोशीले जानकारी दिनुभयो । यस बर्ष जिल्लाभर २५ वटा परिक्षा केन्द्र ताकिएको छ । गत बर्ष जिल्लाभरबाट ४ हजार ९ सय ८३ जना बिद्यार्थी एसईईमा सहभागि भएका थिए ।

यस्तै अघिल्लो बर्ष ५ हजार ६४ जना बिद्यार्थी परिक्षामा सहभागि भएका थिए । यसबर्ष शारदा माद्यामिक बिद्यालय शंखमुल परिक्षा केन्द्रबाट सबैभन्दा धेरै २ सय ९५ जना बिद्यार्थी र सबै भन्दा कम जनज्योति माद्यामिक बिद्यालय फारुलाचौर परिक्षा केन्द्रबाट ९९ जना बिद्यार्थी सहभागि हुदैँ छन् । परिक्षा सञ्चालनका लागि जिल्लामा २५ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २९ जना निरिक्षक, ४६ जना सहायक कर्मचारी, ९२ जना कार्यालय सहयोगी र सुरक्षाकर्मी सहित करिब ८ सय जनाको टोली खटिने छ ।

जिल्लाको जन्मदर कम हुनु र बसाइँ–सराईले एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या घटेको सुचना अधिकारी जोशीले बताउनुभयो । ‘परिक्षाको सबै तयारी पुरा भएको छ, सबै परिक्षा केन्द्र नजिकका प्रहरी कार्यालयमा प्रश्न पत्र, उत्तरपुस्तिका लगाएतका सामाग्री पठाइसकेका छौँ’ उहाँले भन्नुभयो ‘परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षाका लागि आवश्यक व्यवस्थापन सँगै निरिक्षणको काम गर्ने छ ।’

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको छ । मनमा भएको डर, त्रास हटाइ शान्त, मर्यादित, अनुशासित र निर्भिकताका साथ परिक्षामा सहभागि हुन सबै बिद्यार्थीलाई शिक्षा विकास तथा समन्वय इकाई सल्यानले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित