सल्यान, १९ चैत ।
आगामी बैशाख ८ गते हुने सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनका लागि नमुना मतपत्र प्रकाशन भएको छैन् । चैत १६ गते नमुना मतपत्र प्रकाशन गर्नुपर्ने निर्वाचन तालिका रहेपनि तीन दिन बित्दा समेत प्रकाशन हुन सकेको छैन् । बैशाख ८ गते हुने निर्वाचनका लागि चैत्र १० गते नै उम्मेदवारी दर्ता गरिएको थियो ।
उम्मेदवारी दर्तासँगै दाविविरोध र अन्तिम नामावली समेत प्रकाशन भएपनि मतपत्र प्रकाशन भने हुन सकेको छैन् । निर्वाचन मण्डलले भने दुवै प्यानलबीच सहमति नहुँदा आफुहरुले नमुना मतपत्र प्रकाशन गर्न नसकेको जनाएको छ ।
निर्वाचन संयोजक बिर बहादुर सेजुवालले भन्नुभयो ‘अघिल्ला निर्वाचनमा गरेजस्तै ११ गते फरकफरक नाम प्यानलको कोलम बनाएर दुवैको नाम सार्वजनिक गरियो, तर १६ गते दुवै पक्षलाइ बोलाएर त्यसपछिको नमुना मतपत्र बनाउने विषयमा छलफल गराउँदा कुरा नमिलेपछि स्थगित गरिएको हो ।’
यसअघिका निर्वाचनमा फरकफरक कोलममा प्यानल सहितको मतपत्र प्रकाशन भएका थिए । चार दलीय संयुक्त व्यवसायिक प्यानलले अघिल्लो निर्वाचन जस्तै फरकफरक कोलममा प्यानल सहितको नमुना मतपत्रको माग गरेको छ भने दुइ दलीय संयुक्त लोकतान्तिक व्यवसायिक प्यानलले नामको बर्णानुक्रम अनुसार माग गरेको छ ।