‘बिहे गर्न पाइन्छ : बालविवाह गर्न पाइदैन्’

‘बालविवाह बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन् मात्रै होइन, विकास र समृद्धिको बाधक हो, तसर्थ यसको उन्मुलन गर्नुपर्छ, समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ, स्थानीय तह, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ, अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

सल्यान, २५ चैत ।
समाजमा हुने बालविवाह रोक्नका लागि सामूहिक प्रयास आवश्यक रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । समाजमा हुने बालविवाहलाई रोक्नका लागि एक्लैले केही गर्न नसक्ने भएकाले सबैको प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका हुन् । बालविवाह बिरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशको आयोजनामा सल्यानमा भएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताभएका हुन् ।

बालविवाह बिरुद्ध साझा अभियान सञ्जालका अभियान संयोजक चेतन गिरीले समाजमा अझै पनि बालविवाहलाई सहज रूपमा लिने गरेकाले बालविवाह न्यूनीकरणमा समस्या आउने गरेको बताउनुभयो । ‘स्थानिय तह सञ्चालन ऐन २०७४ मा बालविवाह रोक्ने दायित्व पालिकाको भएको उल्लेख छ, बिहे गर्न पाइन्छ तर बालविवाह गर्न पाइदैन्’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशका दश जिल्लामध्ये सल्यान जिल्ला बालविवाह हुने पहिलो जिल्लाको रुपमा छ ।’

उहाँले सल्यानमा ७५ प्रतिशत बालविवाह रहेको पाइएको बताउनुभयो । ‘स्वास्थ्य संस्थाको रेकर्ड हेर्दा पनि २० बर्षमुनी आमा बन्ने महिलाको संख्या धेरै छ, हामीले कर्णालीका दशै जिल्लामा बालविवाह बिरुद्ध साझा अभियान सञ्चालन गरिरहेका छौँ, पहिले जस्तो खुलेयाम बालविवाह भएको पाइदैन् तर लुकिछिपि बालविवाह भैरहेको तथ्यांकले देखाउँछ’ उहाँले भन्नुभयो ‘बालविवाह न्युनिकरणका लागि सबैको प्रयास आवश्यक छ ।’

सरकारले नै सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले त्यो लक्ष्य प्राप्तीको लागि पनि सबैको साथ आवश्यक रहेको उहाँको भनाइ छ । ‘बालविवाह बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन् मात्रै होइन, विकास र समृद्धिको बाधक हो, तसर्थ यसको उन्मुलन गर्नुपर्छ, समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ, स्थानीय तह, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ, अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाले बालविवाह न्युनिकरण नभई अव निर्मुलनको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘बालविवाह रोक्नका लागि विद्यालय स्तरबाटै सचेतनाका कार्यक्रमहरू गर्दा धेरै प्रभाव पर्ने भएकाले यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिदैँ आएका छौँ, बालविवाह अन्त्यका लागि समाजमा चेतना फैलाउन पनि आवश्यक रहेको छ’ उहाँले भन्नुभयो ।

उहाँले समाजमा उमेर नपुग्दै भाग्ने प्रचलन रहँदै आएकाले थप चुनौती थपिएको बताउनुभयो । ‘युवायुवतीहरू उमेर नपुग्दै भाग्ने, बच्चा जन्माउने र पछि सम्बन्ध विच्छेद गर्ने जस्ता समस्या आउने गरेकाले यसलाई रोक्न सबैसँगको सहकार्य आवश्यक रहेको छ’ उहाँले भन्नुभयो ‘हामीले बालविवाह न्युनिकरणका लागि धेरै काम गर्न खोजेका छौँ, तर तालमेल मिलेको छैन्, अव सबैसँग हातेमालो गरेर अघि बढ्छौँ ।’

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बालविवाह न्युनिकरणका लागि बालबालिका सँगै उनीहरुका अभिभावकहरुलाई सचेत बनाउनुपर्ने बताउनुभयो । प्रहरी नायव उपरिक्षक नवीन कार्कीले यस बर्षको हालसम्म प्रहरीमा उमेर नपुग्दै बिबाह गरेको भनेर उजुरी नआएपनि समाजमा बालविवाह भने हुने गरेको बताउनुभयो ।

बालविवाह बिरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशका संयोजक पवित्रा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालका सहसंयोजक नीम बहादुर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण बालविवाह बिरुद्ध साझा अभियान सञ्जाल सल्यानका सहसंयोजक मीना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस