शारदा मेयर टि–२० कप क्रिकेटको तयारी पुरा

प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ ।

सल्यान, २७ चैत ।

सल्यानको शारदा नगरपालिकाले सञ्चालन गर्न लागेको अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेटको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख प्रकाश भण्डारीले २०८० चैत २८ गते देखी २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने शारदा मेयर टि–२० कप क्रिकेटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभएको हो । प्रतियोगितामा जिल्लाको कुमाख गाउँपालिका र दार्मा गाउँपालिका बाहेक बाँकी ८ वटै स्थानिय तहको सहभागिता रहने छ ।

नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेटा टिमले एक लाख रुपैँया र उपविजेता टिमले ५० हजार रुपैँया पुरस्कार पाउने बताउनुभयो । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगाएतका विधामा पनि पुरस्कृत गरिने उहाँको भनाइ छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैँयाबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

क्रिकेट प्रतियोगिताको व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ । प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ । जसमा समुह ए मा बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिका छन् । यस्तै समुह वि मा सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिका रहेका छन् ।

लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो । दुबै समुहबाट पहिलो हुने २ टिम फाइनलमा उपाधिका लागि भिड्ने छन् । देशभरमा नै क्रिकेटको माहोल बढ्दै गएको अवस्थामा क्रिकेट खेलाडीको प्रोत्साहन गर्न र खेल क्षेत्रको विकास गर्नका लागि यस प्रतियोगिता कोशेढुंगा सावित हुने उहाँको भनाइ छ ।

शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता शारदा नगरपालिका–२ स्थित लुहापिङ खेलमैदानमा हुने छ । प्रतियोगितामा प्रत्येक टिमबाट १६/१६ जना खेलाडी सहभागि हुने छन् । प्रतियोगिता अवधिभर करिब २० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताको बुधबार बिहान साढेँ ११ वजे पुर्व गृह राज्यमन्त्री देबेन्द्रराज कडेँलले उद्घाटन गर्नुहुने छ ।

यससँगै अवको केही सातापछि मेयरकप भलिवल प्रतियोगिता सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । खेल क्षेत्रलाई उकास्न रंगशाला सहित पूर्वाधार निर्माणमा जोड दिइरहेको शारदा नगरपालिकाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस