सल्यानमा आगलागी : सल्लैसल्लाको वन भएकाले नियन्त्रण गर्न समस्या

हिजो बेलुका बाट लागेको आगो दिनभर नियन्त्रणमा लिने प्रयास गरिए पनि अझै नियन्त्रणमा आउन सकेको छैन् । आगोले नयाँ बस्ती, टुनीचौर, डाँडागाउँ, मेलचौर, पानेखोला लगाएतका बस्ती प्रभावित भएका छन् । अहिले पनि आगलागी जिल्ला अस्पताल सल्यानको आसपासमा भैरहेको छ ।

Pic : Amrit Babu Budhathoki

सल्यान, १८ बैशाख ।
सल्यानका सामुदायिक वनहरुमा भिषण आगलागी भएको छ । जिल्लामा रहेका सयौँ सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । आगलागीका कारण दर्जन बढी घरगोठ जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणमा वन कार्यालयका कर्मचारी, सुरक्षा निकाय र स्थानियको सहभागिता रहने गरेको छ । आज मात्रै जिल्लाको सदरमुकाम आसपासको क्षेत्रमा आगलागी भएको छ ।

जिल्लाको खलंगा क्षेत्रको चन्द्रपाला लगाएतका वनमा आगलागी भएको छ । आगलागीका कारण मानवीय क्षति नभएपनि एउटा गोठ जलेको छ भने दिनभर नै वन कार्यालयका कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानिय लगाएत आगलागी नियन्त्रणमा सक्रिय भएका थिए ।

आगलागीका कारण शारदा नगरपालिका २ टुनीचौर निवासी टिका भण्डारीको गोठ जलेको वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो । आगलागीका कारण गोठसँगै करिब ७ मुरी मकैँ र घाँसपात पनि जलेको छ । यस्तै मेलघारी, डाँडागाउँ, जोलीपिपल लगाएतका क्षेत्रमा रहेका घरमा क्षति हुनबाट बचाइएको भए पनि केहीका दाउरा, घाँसपात, मल आदी जलेको छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख जीतेन्द्र महतले यसबर्षको हिउँदमा पानी नपरेकाले आगलागीका घटना धेरै भएको बताउनुभयो । उहाँले सल्लैसल्लाको जंगल भएको र सुख्खापन बढेकाले आगलागीका घटना हुने गरेको र नियन्त्रणमा ल्याउन हम्मेहम्मे परेको बताउनुभयो ।

आगलागी नियन्त्रण कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, सिद्धिबक्स गण सिमखर्कका गणपति कृष्णचन्द ठकुल्ला सहित उपसेनानी रबिन्द्र बहादुर शाही, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपि नवीन कार्की, सशस्त्र प्रहरी वलका प्रमुख डिएसपि सुशिल श्रेष्ठ लगाएत सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानियको सहभागिता रहेको थियो ।

हिजो बेलुका बाट लागेको आगो दिनभर नियन्त्रणमा लिने प्रयास गरिए पनि अझै नियन्त्रणमा आउन सकेको छैन् । आगोले नयाँ बस्ती, टुनीचौर, डाँडागाउँ, मेलचौर, पानेखोला लगाएतका बस्ती प्रभावित भएका छन् । अहिले पनि आगलागी जिल्ला अस्पताल सल्यानको आसपासमा भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस