सल्यान, २९ बैशाख ।
सल्यानको दार्मा गाउँपालिका–२ झ्यारीबाङका कृति बहादुर चन्द उमेरले ६८ बर्षको हुनुभयो । विगत केही बर्षदेखी आँखा कमजोर हुदैँ गएका उहाँले टाढाको बस्तु देख्दै छोड्नुभयो । ‘मैले त टाढाको केही देख्दैन्थेँ, नजिक भए मात्रै देख्ने हो, मान्छे ठम्याउँन समेत धौँ हुन्थ्यो’ आँखाको मोतिबिन्दुको सफल शल्यक्रिया पश्चात उहाँले भन्नुभयो ‘अहिले उज्यालो भएको जस्तै भयो, सबै बस्तु छर्लङ्गै देखे ।’ उहाँको अहिले एउटा आँखाको शल्यक्रिया गएको छ ।
दार्मा गाउँपालिका–४ गलाचका मन कुमारी मल्ल पनि उमेर ७० पुगिसक्नुभयो । उमेर छदाँ राम्रै आँखा देख्ने गर्नुभएकी उहाँले पछिल्लो एक दश बर्षयता आँखा कम देख्न थाल्नुभएको छ । आँखाको शल्यक्रिया पश्चात उहाँमा खुसीको सिमा छैन् । ‘ऊ बेला त धुलो धुँवा केही नभनेर काम गरियो, बुढेसकालमा आँखा कमजोर हुदैँ गए, हिजोअस्ती सम्म त केही देख्थिन, तर आज बाट त सबै देख्ने भैसके’ उहाँले भन्नुभयो ।
आँखा कम देख्दा दिउँसो पनि रात परे झै हुने गरेको उहाँको भनाइ छ । ‘बुढेसकालमा आँखा देख्न पाए, मैले खुसी मानेकी छु, अव त घरभित्र बाहिर आफैँ गर्नसक्छु, घरकाले दिएको खानेकुरा नि आफै खानसक्छु, के राम्रो के नराम्रो छुट्याउन सक्छु, के सफा छ, के फोहोर छ त्यो छुट्याउन सक्छु’ उहाँले फेरी थप्नुभयो ‘पहिले त आँखा खोल्न दाङ्ग जान्थे रे, हाम्ले त गाउँमै आँखा खोल्न पाइम, खर्च केही नि भएन् ।’
कृति बहादुर र मन कुमारी मात्रै होइन् निशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविरबाट दार्मा गाउँपालिकाका ८५ जनाले आँखा देख्न पाएका छन् । नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल रक्षाचौर दाङ्गको प्राविधिक सहयोग र दार्मा गाउँपालिका सल्यानको आयोजनामा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।
आधारभूत स्वास्थ्य तथा प्रसुति केन्द्र थुम्किसल्लीमा जेष्ठ नागरिकहरूका लागि २ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । गाउँपालिका भित्रका ६ वटै वडाहरुमा आँखा शिविर सञ्चालन गरेर मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने १ सय २९ जना बिरामी छनौट गरिएको थियो । ती मध्ये ८५ जनामो सफल शल्यक्रिया गरिएको छ । जमा ३४ जना पुरुष र ५१ जना महिलाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । स्वास्थ्य समस्याका कारण केहीको शल्यक्रिया गर्न बाँकी छ भने केहीलाई रक्षाचौर रिफर गरिएको छ ।
यसअघि वडास्तरमा भएको छनौट शिविरमा एक हजार एक सय ७९ जनाको आँखा परिक्षण गरिएकोमा २ सय ५७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । मोतिबिन्दुको शल्यक्रिया शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौरमा कार्यरत नेत्र तथा कर्णिया विशेषज्ञ डा. ज्योती सापकोटा सहितको प्राविधिक टोली खटिएको थियो । यस्तै मोतिविन्दु छनौट शिविरमा नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतका सामुदायिक संयोजक भरत देवकोटा, आँखा उपचार केन्द्र शितलपाटीमा कार्यरत नेत्र सहायक मनिषा पुन सहितको प्राविधिक टोलि खटिएको थियो ।
सो अवसरमा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले आउँदो आर्थिक बर्षदेखी आँखाको उपचारका लागि पालिका बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । यसका लागि विभिन्न निकायसँग साझेदारी गरेर दार्मा मै प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।