सल्यान, ३१ बैशाख ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखा कार्यालयले ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । उपचारको क्रममा केही महिना अगाडि मृत्यु भएका शारदा नगरपालिका वडा नं. २ खलंगा गैरागाउँका हुकुम खड्काको परिवारलाई उक्त रकम प्रदान गरेको हो । कम्पनीले उक्त रकम मृतक बीमितका पत्नी सीता राणा खड्कालाई प्रदान गरेको हो ।
सोमबार शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी र कम्पनीका सल्यान शाखा प्रमुख भरत रोकाय सहितको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । खड्काले करिब २ वर्ष अगाडी मात्र आईएमई लाइफ इन्स्योरेन्समा बीमामा गर्नुभएको थियो । दावी भुक्तानी रकम हस्तान्तरण गर्दे नगरप्रमुख भण्डारीले बिमाको महत्व बढ्दै गएको र नगरपालिकाले यो वर्ष पालिका भित्रका सबै नागरिकको बीमा गर्ने तयारी गरेको समेत बताउनुभयो ।
आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख रोकायले बिमाको महत्वबारे प्रकाश पार्दै बिमा अपरिहार्य रहेको बताउनुभयो । सो अवसरमा इन्स्योरेन्सका बिएसए संगीता थापा मगर, एमडीआरटी धर्मराज योगी, एजेन्सी म्यानेजर लता कुमारी भण्डारी, टेक माइन्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम बिहानी लगाएतको सहभागिता रहेको थियो ।