सल्यान, १ जेठ ।
सल्याको सिद्ध कुमाख गाउँपालिकामा प्रारम्भिक बाल विकास सहजकर्ताहरुको लागि क्षमता विकास तालिम सुरु भएको छ । सिद्ध कुमाख गाउँपालिकाको केन्द्र ढोरचौरमा सोमबारबाट तालिम सुरुभएको हो ।
सिद्ध कुमाख गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले प्रारम्भिक बाल विकास सहजकर्ताहरुको क्षमता विकासको लागि मन्टेश्वरी पद्धति सहितको प्रारम्भिक बाल विकास सम्बन्धि तालिम सुरु गरेको हो।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बालबालिकाको शैक्षिक ज्ञान वृद्धिमा वालविकास सहजकर्ताहरुको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सहजकर्ताहरुको व्यत्तित्व विकास तथा क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो।
कार्यक्रम बोल्दै शिक्षा शाखा प्रमुख प्रतिभा वली खड्काले शैक्षिकसत्रको सुरुवातमा तालिमको आयोजना गरिएकाले शैक्षिक गुणस्तरमा ठुलो टेवा पुग्ने बताउनुभयो पालिकाले तल्लो कक्षाबाटै विद्यार्थीको जग बलियो बनाउनुपर्छ भन्ने मान्यता सहित सहजकर्ताहरुको लागि तालिमको आयोजना गरिएको र पालिकाले प्रारम्भिक बालविकास कक्षालाई महत्वपूर्ण रुपले हेरेको समेत उहाँले बताउनुभयो।
तालिममा पालिका भित्रका बालिक विकास केन्द्रहरुमा कार्यरत २६ जना बालविकास सहजकर्ताहरुको सहभागीता रहेको छ। ७ दिनसम्म संचालन हुने तालिममा मन्टेश्वरी पद्धति, शैक्षिक सामग्री निर्माण, बालविकास सम्वन्धि आधारभूत ज्ञान लगायतको विषयमा प्रशिक्षकले प्रशिक्षण दिने पालिकाले जानकारी दिएको छ।