सल्यान, ५ जेठ ।
सल्यानमा निशुल्क छारे रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । पछिल्लो समयमा जिल्लामा छारे रोगका विरामी बढेको हुनसक्ने आँकलन गरेर जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा छारे रोग भएका ५ जना पुरुष र १ जना महिलाले सेवा लिएका छन् । यस्तै २ जना मनोरोगका विरामीले पनि उपचार सेवा लिएका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा हाल २१ जना छारे रोगका विरामीले नियमित फ्लोअप र औषधि सेवन गरिरहेका छन् । शिविरमा न्युरोसर्जन डा. हेमाभ राजभण्डारी, मनोचिकित्सक डा. अभिलाषा गिरी, नेपाल छारे रोग संघका महासचिव शंकर मलाकर, सीएमसी नेपालका मानसिक स्वास्थ्य संयोजक सुमिता मल्ल लगाएतको टोली शिविरमा खटिएको थियो ।
शिविरमा आएका छारे रोगका विरामीमा रोग नियन्त्रणको अवस्थामा नरहेको र नियमित चिकित्सकको फ्लोअपमा रहन सुझाव दिइएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. शरद धितालले जानकारी दिनुभयो । छारे रोग एक ब्यक्तिबाट अर्को ब्यक्तीमा नसर्ने रोग हो । तर गाउँ समाजमा छारे रोगप्रति फरक बुझाई भएको उहाँको भनाइ छ । ‘छारे रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दैन, उसलाई समाउदैँमा, छुदैमा यो सर्दैन’ उहाँले भन्नुभयो ‘विभिन्न कारणबाट यो रोग मानिसमा देखिने गर्छ ।’
छारे रोगबाट बच्न औषधी सेवन गर्नु नै उत्तम उपाय भएको उहाँको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय सल्यान, शारदा नगरपालिका, सीएमसी नेपाल र नेपाल छारे रोग संघको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।