त्रिबेणी गाउँपालिकामा बढ्दै व्यावसायिक पशुपालक

कृषकको लागत कम गर्दै उत्पादनमा बृद्धि ल्याउने उद्देश्यका साथ यसै पटक मात्रै २२ वटा भैंसी, छवटा गाई र चारवटा बाख्रामा कृतिम गर्भाधान गरिएको छ ।

सलयान, ५ जेठ ।

सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । गाउँपालिकाले पशुपालनमा लगानीसँगै कृषक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेकाले व्यावसायिक पशुपालन गर्नेको संख्या बढ्दो छ ।

तथ्यांक अनुसार गाउँपालिकाभरमा दुई वटा गाई फार्म, ५३ वटा भैंसी फार्म, २१ वटा खुकुरा फार्म सञ्चालनमा रहेका छन् ।

यस्तै १८ वटा भैंसी फार्म, १२ वटा बंगुर फार्म, तीन वटा डेरी पसल, १९ वटा मासु पसल, १० वटा माछा फार्म र संकलन केन्द्र तीनवटा पालिकामा दर्ता भएको त्रिवेणी गाउँपालिका, पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । उहाँकाअनुसार पालिकाभरीमा तीन हजार ४६ भैंसी, राँगा रहेका छन् । यस्तै गाईगोरु चार हजार तीन सय २९ वटा, बाख्रा २२ हजार चार सय १३ रहेका छन् ।

यस्तै भेडा एक हजार छ सय ३० वटा, बंगुर तीन हजार ६१ वटा, कालिज ५० वटा, टर्की ८० वटा, कुखुरा २७ हजार नौ सय ३० वटा रहेको पशु सेवा शाखाले जनाएको छ । गत वर्ष मात्रै पालिकाभरमा तीन लाख ५५ हजार तीन सय नौ लिटर दूध उत्पादन भएको छ । यस्तै मासु तीन लाख ६३ हजार एक सय २५ केजी, माछा १२ हजार दुई सय ५० केजी र अण्डा चार लाख १९ हजार सात सय ९७ गोटा उत्पादन भएको छ ।

त्रिवेणी गाउँपालिकाले कृषकको उत्पादनको आधारमा अनुदान दिने भएकाले व्यावसायिक कृषकको संख्या बढ्दो रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिनुभयो । कृषकको लागत कम गर्दै उत्पादनमा बृद्धि ल्याउने उद्देश्यका साथ यसै पटक मात्रै २२ वटा भैंसी, छवटा गाई र चारवटा बाख्रामा कृतिम गर्भाधान गरिएको छ ।

हाल पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन् सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, समन्वय/सहकार्य, पशुपन्छी बजार प्रबद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस