त्रिबेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई तालिम

पालिकाले सञ्चालन गर्ने कार्यलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाहमा कसरी सहजता ल्याउने भन्ने उद्धेश्य सहित २ दिने तालिम सम्पन्न भएको हो ।

सल्यान, १७ जेठ ।

सल्यानको त्रिबेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाहमा कसरी सहजता ल्याउने भन्ने उद्धेश्य सहित २ दिने तालिम सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुको लागि स्थानिय सरकार सञ्चालन सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

तालिममा स्थानिय सरकार सञ्चालन ऐन २०७४, बिषयगत समितिको काम, कर्तव्य र अधिकार, योजना तर्जुमा प्रक्रिया, बेरुजु र यसका असर, आर्थिक कार्यविधि तथा बित्तिय ऐन २०७५ का सम्बन्धमा समेत अभिमुखिकरण गरिएको छ । यस तालिमले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका साथै व्यवहारमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो ।

‘हामीले सेवा त दिदैँ आएका छौँ, तर जनताको भावना अनुसारको दिन सकेका छौँ कि छैनौँ,जनप्रतिनिधि आफ्नो काम, कर्तव्य र अधिकारप्रति बफादार भयौँ कि भएनौँ भन्ने बारेमा प्रशिक्षण दिइएको छ भने जनप्रतिनिधिको आनीबानीका कारण सेवाग्राहीले सास्ती पाएका पो छन् कि भनेर जनप्रतिनिधिको व्यवहारमा परिवर्तन ल्याउन समेत तालिम महत्वपुर्ण छ’ उहाँले भन्नुभयो ।

यस्तै गाउँपालिकामा कार्यरत सबै कर्मचारी, गाउँपालिकाभित्रका सबै वडासचिव, सबै स्वास्थ्य संस्थाका प्रमुख लागि पनि तालिम सम्पन्न गरिएको छ । लुहाममा सम्पन्न २ दिने तालिममा राजस्व सुत्र, खरिद ऐन र खरिद व्यवस्थापन, जिन्सी व्यवस्थापन, बजेट फछ्यौट र समपरिक्षण लगाएतका बिषयमा अभिमुखिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर केसीले बताउनुभयो ।

‘कर्मचारीक्षेत्रबाट पनि पुर्नताजकीय तालिमको अपेक्षा गरिएको थियो, यो तालिमले कर्मचारीको सिप, क्षमता, लगनशिलता, व्यवहारिकतामा परिवर्तन ल्याउन मद्धत मिल्छ भन्ने विश्वास लिएर तालिम सञ्चालन गरेका हौँ’ उहाँले भन्नुभयो ‘पालिकाको काममा विगतको भन्दा केही फरकपन आउँछ भन्ने हाम्रो आसा छ ।’ गाउँपालिकाको आयोजना र कर्णाली कन्सल्टेन्सीको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।

पालिकाबाट सञ्चालन हुने कार्यलाई कसरी व्यवहारिक र सेवाग्राही मैत्री बनाउन सकिन्छ भन्ने बारेमा तालिम लिएपछि जनप्रतिनिधि र कर्मचारी पनि खुसी भएका छन् । तालिममा प्रशिक्षकको रुपमा नारायण प्रसाद आचार्य, कृष्ण प्रसाद अधिकारी र कृष्ण प्रसाद ढुंगेल रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित