कपुरकोटमा हाटबजार सुरु : बेमौसमी तरकारी उपभोक्ताको भान्सामा

फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् । कपुरकोटको तरकारी बजारमा हजारौँ किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्री गर्ने गर्दछन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडक निर्माण भएपश्चात व्यापारीहरु किसानको खेतबारी सम्म नै पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कृषि सडकले कृषिजन्य वस्तु बजार सम्म पुर्याउन र आवश्यक सामग्री गाउँसम्म लैजान पनि किसानलाई सजिलो बनाइदिएको छ ।

सल्यान, २९ जेठ ।
सल्यानको कपुरकोटमा उत्पादन भएको बेमौसमी तरकारी बिक्रीको लागी तयार भएपछि हाटबजार सुरु भएको छ । तरकारीको हबको रुपमा चिनिने कपुरकोटको बेमौसमी तरकारी किसानको बारीमा लटरम्म फलेकाले खरिद बिक्रीका लागि हाटबजार सुरु भएको हो । बर्खायाम तराई लगाएत तल्लो क्षेत्रमा तरकारी फल्दैन । यो समयमा कपुरकोटको बेमौसमी तरकारी अधिकांश उपभोक्ताको भान्सामा पाक्ने गर्दछ ।

किसानले उत्पादन गरेको तरकारी बिक्रिमा समस्या नहोस् भनेर कृषि उपज बजार संचालक समिति कपुरकोटले हप्तामा २ दिन तरकारी हाटबजार संचालन गर्न सुरु गरेको छ । बिगतमा कपुरकोट बजार बाट मात्रै हाटबजार संचालन हुने र अन्य क्षेत्रमा संकलन केन्द्र संचालन भैरहेको अवस्थामा यस पटक देखि भने थप दुइ स्थानबाट सहायक हाटबजार संचालन गरिएको समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो । उहाका अनुसार कपुरकोट हाटबजार साताको जेठ २५ गते देखि शुक्रबार र मंगलबार सुरु भएको छ ।

यस्तै सहायक हाट बजार बगाले सोमबार र बिहिबार संचालन हुने छ भने सितलबजार सहायक हाटबजार सोमबार र शनिबार संचालन हुने छ । साताभरमा नै तरकारीको हाट बजार संचालन हुदा तरकारी बिक्रीमा समस्या नहुने अध्यक्ष शर्माको भनाइ छ । पछिल्लो समय कपुरकोट ताजा तरकारी र फलफुल खेतीबाट पनि परिचित हुँदै गएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको देखिन्छ ।

शुक्रवारबाट विधिवत रुपमा हाटवजार सुरु भएको छ, किसानले टमाटर, सिमी, भेडेखुर्सानी लगाएतका तरकारी बिक्रीका लागि हाट वजारमा ल्याएका थिए, उहाँले भन्नुभयो किसानले केही दिनदेखी फाटफुट मात्रामा तरकारी बेच्दै आएका थिए, अव बृहत रुपमा तरकारीको हाटवजार नै सुरु भएको छ, किसानको तरकारी खरिदमा लागि व्यापारिक समेत साबेल हुन आउन थालेका छन् ।

युवा तथा महिलाहरु समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतिका लागि लगानी गरिरहेका छन् । कपुरकोट क्षेत्रबाट मात्रै एक सिजनमा करिव पाँच हजार मेट्रिक टन तरकारी जिल्ला वाहिर निर्यात हुने गर्दछ । यहाँका किसानहरुले विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् ।

फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् । कपुरकोटको तरकारी बजारमा हजारौँ किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्री गर्ने गर्दछन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडक निर्माण भएपश्चात व्यापारीहरु किसानको खेतबारी सम्म नै पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कृषि सडकले कृषिजन्य वस्तु बजार सम्म पुर्याउन र आवश्यक सामग्री गाउँसम्म लैजान पनि किसानलाई सजिलो बनाइदिएको छ ।

यस्तै किसानको सहजताको लागि दश मेट्रिक टन क्षमताको कोल्ड स्टोर सञ्चालन को तयारी गरिएको छ । केही दिनअघि मात्रै कोल्ड स्टोर निर्माण कार्य सम्पन्न भएको छ । किसानको सहजताको लागि कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार कपुरकोटमा नयाँ कृषि एम्बुलेन्स खरिदका लागि सुचना प्रकाशन गरिएको छ ।

अवको केही दिनमा कृषि एम्बुलेन्स सञ्चालनमा आउने छ । ग्रामिण भेगका किसानले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहजताको लागि यसले मद्धत गर्ने उहाँको भनाइ छ । गत सिजनमा मात्रै कपुरकोट क्षेत्रबाट असार देखी मंसिरसम्मको अवधिमा किसानले ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेका थिए । जसबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया कृषकले हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस