मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा सरोकारवालाको जोड

स्थानिय स्तरसम्म मानव अधिकारबारे सचेतना जगाउने, मानव अधिकार रक्षकहरुलाई सञ्जालीकरण गर्ने र राज्यलाई थप जबाफदेही बनाउन सबैको सहकार्य आवश्यक रहेको उनीहरुले बताएका हुन् ।

सल्यान, ३२ जेठ ।
मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्ने सल्यानका सरोकारवालाले बताएका छन् । स्थानिय स्तरसम्म मानव अधिकारबारे सचेतना जगाउने, मानव अधिकार रक्षकहरुलाई सञ्जालीकरण गर्ने र राज्यलाई थप जबाफदेही बनाउन सबैको सहकार्य आवश्यक रहेको उनीहरुले बताएका हुन् । मानव अधिकार तथा सामाजिक न्याय अभियान अन्र्तगत रोयम नेपालको आयोजनामा बिहीबार सल्यानको खलंगामा सम्पन्न जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानव अधिकारको प्रवद्र्धनका लागि युवालाई परिचालन गर्दै शिक्षाको माध्यमबाट सुशासनका काम गर्नुका साथै मानव अधिकारलाई मान्छेको नैसर्गिक अधिकारका रुपमा लिनुपर्नेमा जोड बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि राज्यसँगै मानवअधिकार रक्षक र नागरिक समाज विचको सहकार्य हुनुपर्ने बताउनुभयो ।

‘युवा जनशक्ति राज्यका लागि महत्वपूर्ण छ, खास गरेर युवामैत्री नितिको पुर्ण कार्यन्वयन गर्न समस्या भैरहेको सन्दर्भमा युवा मानवअधिकार रक्षकहरु सञ्जालीकरण हुनु आफैमा सकारात्मक पक्ष हो’ उहाँले भन्नुभयो ‘समाजमा हुने गलत कार्यलाई रोक्नको लागि युवा जनशक्ति आवश्यक छ, के सहि हो, के गलत हो, अहिले छुट्याउने बेला भएकोले सहि तरिकाले अघि बढ्न सबै युवापंक्तिमा आग्रह गर्दछु ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीले युवा सक्रियता हराउदै गएको अवस्थामा मानवअधिकार रक्षक सञ्जालीकरण हुनु आफैमा गौरवको बिषय भएको बताउनुभयो । ‘समाजमा हुने बिकृति रोक्नका लागि होस् या समाजको दिगो विकासको लागि होस् युवाको भुमिका महत्वपूर्ण छ, जसमा पनि युवा एक हुनु अर्को राम्रो पक्ष हो’ उहाँले भन्नुभयो ‘सभ्य समाज निर्माणका लागि युवा शक्ति अपरिहार्य छ, सबैक्षेत्रका युवासँग सहकार्य गर्न प्रहरी तयार छ ।’

नेपाल बार एसोशियसन सल्यानका अध्यक्ष सिपि ओलीले देशका लागि गर्नुपर्ने धेरै काम बाँकी रहेकाले युवाशक्तिलाई सहि तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो । अधिकारकर्मी बिष्णु शर्माले जिल्लामा युवा मानवअधिकार रक्षक सञ्जाल हुनु नयाँ आयाम थप्ने माध्यम भएको भन्दै अधिकारको खोजीमा हिड्दै गर्दा कर्तव्य फुल्न नहुने सुझाव दिनुभयो ।

 

जिल्लाको मानवअधिकारको अवस्था, मानव अधिकार रक्षकको पहिचान, जिम्मेबारी, समस्या, चुनौती र अवसर तथा मानव अधिकारको विश्वब्यापि घोषणापत्रका बारेमा प्रस्तुतिकरण गर्दै इन्सेक जिल्ला प्रतिनिधि बुद्धि पुनले मानवअधिकारका क्षेत्रमा काम गर्दैगर्दा रक्षकमाथि बेलाबखतमा आउने समस्या र चुनौतीले जटिलता प्रदान गरेको भन्दै रक्षकहरु नै सञ्जालीकरण विना काम गर्न गाह्रो हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण परियोजनाका कर्णाली प्रदेश संयोजक सन्तोष विकले गर्नुभएको थियो ।

यसैविच भेलाले अस्मिता बस्नेतको अध्यक्षतामा ३१ सदस्यीय जिल्लास्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । जसको उपाध्यक्षमा पुस्कर सुनार र खिमा बोहरा, सचिवमा प्रदीप घर्ती मगर, सहसचिवमा राजेन्द्र परियार र झरणा चन्द रहनुभएको छ । यस्तै कोषाध्यक्षमा तुल बहादुर भण्डारी र सहकोषाध्यक्षमा सिर्जना केसी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस