खडेरीको मारमा सल्यानका किसान : मकैँ, तरकारी र धानको ब्याडमा असर

बैशाखयता पानी नपर्दा जिल्लाका किसानले रोपेको मकैँको बिरुवा र तरकारी सुक्न थालेको छ भने धानको ब्याड जोगाउन किसानलाई मुश्किल परेको छ । खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि चिन्तामा छन् । बैशाखको मध्यतिर मकैँ रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको ग्रामिण भेगमा मकैका बिरुवा मर्न थालेका हुन् ।

तस्वीर : अमृत बाबु बुढाथोकी

सल्यान, ३ असार ।

लामो समयको खडेरीका कारण सल्यानका किसान मारमा परेका छन् । बैशाखयता पानी नपर्दा जिल्लाका किसानले रोपेको मकैँको बिरुवा र तरकारी सुक्न थालेको छ भने धानको ब्याड जोगाउन किसानलाई मुश्किल परेको छ । खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि चिन्तामा छन् । बैशाखको मध्यतिर मकैँ रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको ग्रामिण भेगमा मकैका बिरुवा मर्न थालेका हुन् ।

बैशाख सकिएसँगै एकपटक पनि वर्षा नभएपछि जिल्लाको छत्रेश्वरी, त्रिबेणी, बागचौर, सिद्धकुमाख, शारदा, बन्गाड कुपिण्डे लगाएतका स्थानिय तहका किसान लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् । छत्रेश्वरी गाउँपालिका–३ का किसान कुलबिर घर्तीले राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामधम ओइलाउन थालेका र पात सुक्न थालेको बताउनुभयो ।

बैशाख देखी खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा नभएका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको उहाँको भनाइ छ । ‘राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला कडा खडेरी सुरु भएकाले बिरुवा मर्न थालेका छन्, कतिपय किसानले गोडमेल गर्ने भैसकेको मकैँ समेत खडेरीले झन् मर्ने डरले गोडनुभएको छैन्’ उहाँले भन्नुभयो ‘मनसुन भित्रियो भन्ने सुनिन्छ, तर अहिलेसम्म पानी परेका छैन्, पानी नपर्दा मकैँका बोटमा गुबाउरो खाने किराको प्रकोप देखिन थालेको छ, सायद भोकमरी पर्छ होला ।’ जिल्लाका पाखो डाँडापाखाका भिराला जमिनमा सिँचाईको सुविधा नहुदाँ यहाँ मकैँ खेती गरिन्छ ।

तस्वीर : अमृत बाबु बुढाथोकी

आकाशे पानीकै भरमा उत्पादन हुदैँ आएको बेमौसमी तरकारी खेतीलाई समेत बेलैमा पानी नपर्दा असर पुगेको छ । कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले लामो समयसम्म खडेरी पर्दा तरकारी उत्पादनमा ह्रास आउनसक्ने बताउनुभयो । ‘यहाँका ३ हजार बढी परिवार बेमौसमी तरकारी खेतीमा आवद्ध छन्, तर अधिकांश क्षेत्रमा सिँचाई छैन्, खडेरीको मारमा किसान परेका छन्’ उहाँले भन्नुभयो ।

मकैँ र तरकारी खेतीमा मात्रै होइन् जिल्लामा धान खेतीका लागि राखिएको ध्यानको ब्याड जोगाउन समेत किसानलाई धौँ–धौँ छ । कुमाख र कालिमाटी क्षेत्रमा चैते धान रोपिएको छ भने पानीको समस्या नभएका केही क्षेत्रमा मात्रै धान रोपाई चलेको छ । तर धान उत्पादनको हवको रुपमा रहेको शारदा नदि किनारको गरिज्युला फाँटमा भने किसानलाई धानको ब्याड जोगाउन मुश्किल छ ।

केही किसान पानी परेपछि ब्याड राख्ने सोचमा छन् । तर ब्याड राखिसकेका किसान भने कसरी ब्याड बचाउने भन्ने चिन्तामा छन् । जिल्लाको बागचौर नगरपालिका हुदैँ सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिका भएर बग्ने शारदा नदिमा पानी निकै कम छ । शारदा नदिका कतिपय ठाउँमा पानी सुकेपछि कमिलाका ताँती देखिन्छन् ।

तस्वीर : अमृत बाबु बुढाथोकी

गरिज्युलाका किसान पवित्रा बुढाथोकीले गाग्रीमा पानी बोकेर धानको ब्याडमा सिँचाई गर्ने गरेको बताउनुभयो । ‘शारदा नदि सुकिसकेको छ, कहि पानी भएको ठाउँमा पनि कम पानी हुदा कुलोमा पानी जादैँन, पानी पर्ला भनेर ब्याड राखिहाल्यौँ, अहिले यही ब्याड बचाउन धौँ भो, खेत चिरा परेको छ, साँझ बिहान खोलाबाट २÷४ गाग्री पानी ल्याएर ब्याडमा सिँचाई गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो ।

असार लाग्दासम्म धान रोपाईले चहलपहल बढ्ने गरिल्युला फाँट यो बर्षको अहिलेसम्म भने सुनसान छ । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । ७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिंचाई सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित