सल्यान, ५ असार ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको छ । मन्त्रिपरिषद्को गत जेठ २४ को निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सल्यान प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउने जेष्ठ नागरिकको भिड लागेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सल्यानमा १ साउन देखी सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने छैन् ।
तर ग्रामिण भेगका सबै जेष्ठ नागरिकमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने सुनेपछि राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा आउनेको संख्या बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘सल्यानमा यो नियम तत्काल लागु हुदैन्, तर जनप्रतिनिधि मार्फत सबै जेष्ठ नागरिकलाई तत्काल राष्ट्रिय परिचयपत्र बनाउनु, नत्र बृद्धभत्ता लगाएतका सामाजिक सुरक्षा भत्ता पाइदैन् भनेर अपुष्ट सुचना सम्प्रेषण भएपछि राष्ट्रिय परिचयपत्रका लागि आउने जेष्ठ नागरिकको संख्या धेरै छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ नागरिकहरु यो टन्टलापुर घाममा सदरमुकाम सम्म आइपुगेका छन् । ‘प्रशासनमा हालसम्म एक ठाउँबाट मात्रै राष्ट्रिय परिचयपत्रको काम हुन्छ, त्यो भनेको दैनिक करिब ४० जना हो, तर अहिले भिडभाड धेरै भो, राहदानी बनाउनेको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य छ, यसैमा जेष्ठ नागरिक थपिदा समस्या भैरहेको छ, पालो पर्खदैँमा २÷३ दिनसम्म लाग्ने गरेको छ, यो बाध्यता हो’ उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र आवश्यकता भएपनि अहिले नै तत्काल बनाउनु नपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । ‘सल्यानमा पनि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्यको व्यवस्था पुस–माघ अघि लागु हुने सम्भावना छैन्, त्यसैले टन्टलापुर गर्मीमा गाउँ–गाउँबाट राष्ट्रिय परिचयपत्रकै लागि आउनु पर्दैन्, जिल्ला प्रशासनमै थप अर्को ठाउँबाट राष्ट्रिय परिचयपत्रको कामको सुरुवात गरेका छौँ, इलाका प्रशासन कार्यालय थारमारेको लागि माग गरेका छौँ’ उहाँले भन्नुभयो ‘अहिले पनि जेष्ठ नागरिकलाई प्राथमिकता दिएका छौँ ।’
छत्रेश्वरी गाउँपालिका निवासी छवि कामीले राष्ट्रिय परिचयपत्र नभए साउनबाट भत्ता पाइदैन् भनेर वडाअध्यक्षले भनेपछि प्रशासन कार्यालयमा आएर लाइन लागेको बताउनुभयो । ‘बुढेसकालमा घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता सृजना गरेर आफूहरुलाई ठूलो सास्ती भएको छ, हामी त आफ्नो अनुकुल मिलाएर आउने थियौँ, तर जनप्रतिनिधिले भनेपछि मान्नै पर्ने भो, काम त भयो, तर यो गर्मीमा सास्ती बढी भयो’ उहाँले भन्नुभयो ।
हाल प्रशासनमा दैनिक २ सय जनासम्म राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् ।
दराजमै थन्किए २२ हजार थान राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा करिब २२ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ । २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । हालसम्म ३७ हजार ३ सय ३७ जनाको दर्ता गरिएकोमा कार्यालयमा २३ हजार ७ सय २३ थान राष्ट्रिय परिचयपत्र आएका छन् ।
तर हालसम्म जम्मा १ हजार ४ सय ८२ जनाले मात्रै कार्ड लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर मुकेश थापाले जानकारी दिनुभयो । परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उहाँको भनाइ छ । परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने गर्छ ।
‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयं व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’ उहाँले भन्नुभयो ‘२०७६ सालदेखि फारम भरेका परिचयपत्र आएका छन्, तर लिन कोही नआउदा त्यसै थन्किएर बसेको छन् ।’