सल्यानमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम

सल्यान, ६ असार ।
सल्यानमा लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार श्रीनगरमा प्रभातफेरीको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । शारदा नगरपालिका र सामाजिक विकास कार्यालयसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति सल्यानले सप्ताहव्यापि कार्यक्रमको थालनी गरेको हो ।

प्रभात फेरी पश्चात् आयोजित सभामा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले लागू औषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । लागू औषधको उत्पादन, ओसारपसार, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान सर्वेक्षण गरी कानुनी व्यवस्थालाई थप कार्यान्वयन गर्न प्रतिबद्ध भएको बताउन भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले वार्षिक ५ प्रतिशत भन्दा बढीका दरले लागु औषध प्रयोगकर्ता बढी रहेकाले यस तर्फ सबै सचेत र सजक हुनु पर्ने बताउनु भयो । अधिकांश लागूऔषध प्रयोगकर्ता अनि कारोबारीहरू युवा रहेकाले यो उमेरका मानिसहरू अत्यन्त जोखिममा रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रका सरोकारवाला निकायहरूसँग छलफल भेटघाट तथा अन्तरक्रिया गरेर दिवस मनाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस