त्रिवेणीका उत्कृष्ट कृषकलाई पुरस्कार

‘मैले ८ रोपनी क्षेत्रफलमा माछापालन व्यावसाय गरेकी छु, यो भन्दा पहिले कसैले सम्मान गरेको थिएन्, उल्लेखनीय काम गरे बापत त्रिवेणी गाउँपालिकाले पहिलोपटक उत्कृष्ट कृषकको रुपमा सम्मान ग¥यो झनै काम गर्न हौसला बढेको छ’ उहाँले भन्नुभयो ।

सल्यान, १० असार ।

सल्यानको त्रिवेणी गाउँपालिकामा उत्कृष्ट कृषकलाई पुरस्कार सहित सम्मान गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिका भित्रका ६ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान प्रदान गरेको हो । जसमा कृषि तथा पशुपंक्षिका क्षेत्रमा उल्लेखनीय काम गरे बापत ६ कृषकलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुनेमा गण्डकी बहुउद्धेश्यीय कृष फर्म त्रिवेणी गाउँपालिका लुहामका सञ्चालक दिपमाला लुलाधर, हरियाली कृषि तथा पशुपंछी फर्मका सञ्चालक निर्मला कठायत, जयलक्ष्मी भैसीपालन फर्मका सञ्चालक प्रकाश कुमार वली, बुढाथोकी माछापालन उद्योगका सञ्चालक निमा केसी, भण्डारी तरकारी फर्मका सञ्चालक युवराज भण्डारी र जानकी खाद्यान्न कृषक समूहका सञ्चालक मैती घर्ती रहनुभएको छ ।

गाउँपालिकाले ६ जना कृषकहरुलाई २० हजार नगद पुरस्कार सहित कदरपत्रले सम्मानि गरेको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । गाउँपालिकाले व्यवसायिक रुपमा पशु तथा कृषि पेशा गर्दैै आएका कृषकलाई सार्वजनिक सूचना सार्वजनिक गरेर आवेदन माग गर्ने र आवेदनको आधारमा स्थलगत रुपमा अनुगमन गरी छनोट गर्ने गरेको उहाँको भनाई छ ।

पुरस्कार ग्रहण गर्दै त्रिवेणी गाउँपालिका–६ का कृषक निमा केसीले गाउँपालिकाले सम्मान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । पुरस्कारले आफुलाई अझै कामगर्ने हौसला थपेको उहाँको भनाइ छ । ‘मैले ८ रोपनी क्षेत्रफलमा माछापालन व्यावसाय गरेकी छु, यो भन्दा पहिले कसैले सम्मान गरेको थिएन्, उल्लेखनीय काम गरे बापत त्रिवेणी गाउँपालिकाले पहिलोपटक उत्कृष्ट कृषकको रुपमा सम्मान ग¥यो झनै काम गर्न हौसला बढेको छ’ उहाँले भन्नुभयो ।

उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कृषकलाई प्रोत्साहित गरेर उत्पादनमा वृद्धि गराउन हरेक वर्ष उत्कृष्ट कृषकहरु छनौट गरेर सम्मान गर्दै आएको बताउनुभयो । नागरिकको जिवनस्तरमा सुधार ल्याउन त्रिवेणी गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले भनाइ छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले कृषकको उत्पादनलाई प्रोत्साहन गर्नको लागि पालिकाले उत्कृष्ट कृषक छनोट गरेर सम्मान गर्दै आएको बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले नागरिकलाई कृषि र पशुको क्षेत्रबाट स्वरोजगार बनाउन पालिकाले आगामी आर्थिक वर्षको लागि कृषक लक्षित कार्यक्रम संचालन गर्ने योजना बनाएको बताउनुभयो ।

कृषकको अनुदान गाउँपालिकाको अनुदान कार्यक्रम

त्रिवेणी गाउँपालिकाले सञ्चालन गर्दै आइरहेको कृषकको अनुदान गाउँपालिकाको अनुदान कार्यक्रमबाट ५ सहकारी सहित १२ किसानलाई अनुदान वितरण गरेको छ । कृषि तर्फ १ सहकारी र १२ कृषक र पशु सेवा तर्फ ४ सहकारीलाई अनुदान वितरण गरिएको हो । त्रिवेणी गाउँपालिकामा चालु आवमा कृषक तर्फ ३ हजार ८८७ क्विन्टल ताजा तरकारी बिक्रीबाट १ करोड १६ लाख ५७ हजार ९९५ रुपैयाँ र पशु पालन तर्फबाट २ करोड ३६ लाख ३० हजार ६ सय २९ रुपैयाँ भित्र्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस