सल्यान, १८ असार ।
सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई खोप सुनिश्चित गर्न उत्कृष्ठ कार्य गर्ने सल्यानका दुई स्थानिय तह र पाँच स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । जिल्ला खोप समन्वय समिति, जिल्ला कोभिड खोप अभियान तथा अनुगमण समितिको सिफारिसमा जिल्लाको त्रिबेणी गाउँपालिकालाई जिल्लाकै सर्बोत्कृष्ठ पालिकाको रुपमा नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । यस्तै जिल्लाकै छत्रेश्वरी गाउँपालिकालाई उत्कृष्ठ पालिकाको रुपमा नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
यस्तै उत्कृष्ठ स्वास्थ्य संस्थाको रुपमा शारदा नगरपालिकाको मार्के स्वास्थ्य चौकी, सिद्ध कुमाख गाउँपालिकाको चाँदे करेन्जी स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको कुपिण्डे दह स्वास्थ्य चौकी, छत्रेश्वरी गाउँपालिकाको छाँयाक्षेत्र स्वास्थ्य चौकी र दार्मा गाउँपालिकाको दार्माकोट स्वास्थ्य चौकीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप कार्यक्रम संयोजक तथा खोप समन्वय समितिका सदस्य तारा प्रसाद रिजालले जानकारी दिनुभयो ।
सल्यान पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भैसकेको अवस्थामा कुनै पनि बालबालिका खोपबाट नछुटुन भनेर पालिका र स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्न सम्मान गरिएको उहाँको भनाइ छ । तथ्यांक अनुसार देशभरका १६ प्रतिशत बालबालिकाले पुर्ण खोपको मात्रा पाउन सकेका छैनन् । सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई जिल्लामा खोप विहिन वा खोपको कुनै मात्रा नपाएका बालबालिकाको अवस्थालाई शुन्यमा झार्न यो कार्य महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकी, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगर लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले खोप लगाउन छुटेका बालबालिकाका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भैसकेको सन्दर्भमा पनि खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउन र खोपको मात्रा पूरा गर्नेको दर बढाउन पालिका, स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने उनीहरुले बताएका हुन् ।
बच्चाको शारीरिक र मानसिक विकासका लागि नियमित खोप निकै महत्वपूर्ण हुन्छ । खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउन, संक्रमणजन्य तथा जटिल खालका रोग र अपाङ्गता हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अनिवार्य रुपमा नियमित खोप लगाउन आवश्यक भएको उनीहरुको भनाइ छ ।