गाउँमै पुगे डाक्टर !

डाक्टरका अनुसार उहाँको स्वास्थ्य जाँच गर्दा प्रेसर २००/१२० थियो । तर उहाँलाई प्रेसरका बारेमा केही थाहा थिएन् । उहाँको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख, कन्सल्टेन्ट फिजिसियन डा. अर्जुन कुमार बुढा मगरले बताउनुभयो ‘आमा ! तपाईको प्रेसर उच्च छ, अहिले मैले सिफारिस गरेको औषधि खानु, थप जाँचको लागि मौका मिलाएर चाँडै जिल्ला अस्पताल आउनु होला ।’

सल्यान, २० असार ।

सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ धुमधुमेकी ७८ बर्षिया मनी पुन डाक्टरसँग जचाँउन पाउँदा खुसी हुनुहुन्छ । वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकोमा उहाँ दंग हुनुहुन्छ । ‘हाम्रा गाउँघरमा पनि यसरी डाक्टर आउने रहेछन्’ उहाँले भन्नुभयो ‘डाक्टरसँग सबै कुरा भन्न पाएँ, त्यसैमा खुसी लागेको छ ।’ घरआँगनमै डाक्टरको सेवा पाएकाले उहाँका आँखाबाट हर्षका आँसु बगे ।

उमेरले नेटो काट्दै जाँदा उहाँले कान कम सुन्नुहुन्छ । गाउँमा विशेषज्ञ डाक्टर आउन लागेको थाहा पाएपछि करिब दुई घण्टाको बाटो हिडेर उहाँ डाक्टर कहाँ पुग्नुभयो । ‘आँखा देख्छु, कान केही सुन्दिन्, सन्चो थिएन्, डाक्टर आउन लागेको थाहा पाए, सबेरै लट्ठी टेकेर उकालो लागेकी हुँ, दिउँसो मात्रै आइपुगे’ उहाँले भन्नुभयो ‘जिल्ला अस्पताल जान सक्दिन, डाक्टर यतै आएको बेला जचाँउनु प¥यो भनेर आएकी हुँ ।’

डाक्टरका अनुसार उहाँको स्वास्थ्य जाँच गर्दा प्रेसर २००/१२० थियो । तर उहाँलाई प्रेसरका बारेमा केही थाहा थिएन् । उहाँको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख, कन्सल्टेन्ट फिजिसियन डा. अर्जुन कुमार बुढा मगरले बताउनुभयो ‘आमा ! तपाईको प्रेसर उच्च छ, अहिले मैले सिफारिस गरेको औषधि खानु, थप जाँचको लागि मौका मिलाएर चाँडै जिल्ला अस्पताल आउनु होला ।’

छत्रेश्वरी गाउँपालिका–५ मैनेरीका ४० बर्षिया कृष्णा बिकलाई टाउको दुख्ने, महिनावारी हुनुअघि तल्लोपेट दुख्ने र बान्ता हुने समस्या छ । बर्खाको समय भएकाले मोटरबाटो राम्रो नहुदा कसरी जिल्ला अस्पताल सम्म जाने होला भन्ने उहाँलाई चिन्ता थियो । जव प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भयो । त्यस शिविरबाट उहाँ लाभान्वित हुनुभयो । ‘गाउँमै यसरी सेवा पाउँला भन्ने सोचेकी थिएन्, मलाई सन्चो होस, यसैमा खुसी हुन्छु’ उहाँले भन्नुभयो ।

मनी र कृष्णा जस्तै पोखराकी पुष्पा सापकोटा शिविरमा भेटिनुभयो । उहाँलाई सधैँ टाउको दुखिराख्ने समस्या छ । स्वास्थ्य जाँच तथा औषधि उपचारका लागि बिशेषज्ञ डाक्टरसम्म पुग्ने उहाँको चाहाना थियो । तर उहाँले मौका पाउनुभएको थिएन् । ‘गाउँमै बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरमा जाँच र उपचार पाएपछि म खुसी छु’ उहाँले भन्नुभयो ‘हामी जस्तै गाउँमा बस्ने नागरिकका लागि यो सुनौलो मौका हो ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको सहजीकरणमा लेखपोखरामा सञ्चालित एकीकृत जनस्वास्थ्य अभियान तथा बिशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले सेवा लिएको जनस्वास्थ्य निरिक्षक एवम् खोप कार्यक्रम संयोजक तारा प्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक ७१ जना र अन्य विरामी ४ सय १५ जनाले सेवा लिएका छन् ।

गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनन् । सामान्य बिरामीले गाउँको स्वास्थ्य केन्द्रमा उपचार पाउँछन् । तर बिशेषज्ञ सेवा पाउनको लागि जिल्ला अस्पतालमै पुग्नुपर्ने बाध्यता छ । बर्खाको समय, गाउँमा एम्बुलेन्स लगाएतका सवारीसाधन सहजै उपलब्ध नहुने र सदरमुकामसम्म आउजाउ गर्न असहज हुनेभएपछि नागरिकको सहजताको लागि गाउँमै एकीकृत बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको डा. बुढा मगरले बताउनुभयो ।

‘गाउँमा नागरिक रोग पालेर बसेका छन्, साना समस्याको वास्ता गर्दैनन्, फेरी धेरै जेष्ठनागरिकका सन्तान रोजगारीका लागि जिल्ला देशबाहिर होस या गाउँ बाहिर छन्, जसले गर्दा उपचार गर्न एक्लै जिल्ला अस्पतालसम्म जान धौँ हुन्छ’ उहाँले भन्नुभयो ‘यो बर्ष जिल्लाका तीन स्थानमा शिविर सञ्चालन गरेका हौँ, गाउँमा सर्ने भन्दा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको पाइएको छ ।’

छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले ग्रामिण भेगका स्वास्थ्य संस्थामा डाक्टर टिकाउन मुश्किल भैरहेको अवस्थामा बिशेषज्ञ सहित स्वास्थ्य शिविर पटक–पटक सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । ‘गाउँका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन सकिदैन्, यस्ता शिविर नभई नहुने रहिछन्’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ, १५ शैँयाको आधारभूत अस्पतालको भवन निर्माण कार्य पनि चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस