सल्यान, २२ असार ।
जिल्ला प्रशासन कार्यालय सल्यानले सम्भावित विपदका घटनाको लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल नेपालमा मनसुन सक्रिय रहेको भनी जल तथा मौषम विज्ञान विभागबाट सूचनाहरु आइरहेको र यस सल्यान जिल्लामा पनि निरन्तर वर्षा भैरहेको अवस्था भएकोले खोला तथा नदिनालाका तटियक्षेत्रमा वसोवास गर्नुहुने मानिसहरुले सर्तकता अपनाउनु हुन सल्यान प्रशासनले आग्रह गरेको हो ।
सबै स्थानीय तहका विपद व्यवस्थापन समितिका सदस्यहरु एवं सम्बन्धित पालिकाहरुले मौषमको अवस्थासंग अपडेट भै आवश्यक जानकारी पालिकावासीलाई गराउन एवं संभावित विपदका घटनाको लागि तयारी अवस्थामा रहन सुचना मार्फत प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले अनुरोध गर्नुभएको छ ।
‘विगत केहि महिनादेखि राप्ती लोकमार्गको राम्री –कपुरकोट सडक खण्डको स्तरोन्नीको कार्य भैरहेको र यसवर्ष मनसुन सुरु भएपछि उक्त सडक खण्डमा पटक पटक लेद/पहिरो खस्ने गरेको र सुरक्षाकर्मीको पहलमा सडकको अवरोध हटाउने कार्य भैरहेको भएतापनि सो सडक खण्डमा आवतजावत गर्नु जोखिमपूर्ण देखिएको छ, तसर्थ मनसुनको अवस्था अनुमान गरी पानी परिरहेको अवस्थामा र रातको समयमा संभव भएसम्म सो सडक खण्डमा सवारी साधन नचलाउन तथा यात्रा नगर्नु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ सुचनामा भनिएको छ ।