‘खेतबारीमा फलेका टमाटर होइनन्, सुनका डल्ला हुन्’

‘टमाटर, काउली, बन्दागोभी, प्याज, सिमि, भेडेखुर्सानी सबै गर्दा डेढ विघा जति होला, पहिले घरखर्च चलाउन पुग्थ्यो, तीन बर्षदेखी बचत हुन थालेको छ, बर्षमा १२ लाख आम्दानी हुन्छ, खर्च कटायो भने पनि आधा बढी बचत हुन्छ’ बोटमै पाकेका टमाटर देखाउँदै उहाँ भन्नुहुन्छ ‘यिनि टमाटरका दाना होइन्, सुनका डल्ला हुन्, यिनि हाम्रा पैसा हुन् ।’

तस्वीर : अमृत बाबु बुढाथोकी

सल्यान, २३ असार ।

कपुरकोट गाउँपालिका–३ धैरेनीका सुक बहादुर बुढाले २०४२ साल देखी तरकारी खेती थाल्नुभयो । त्यो बेला बारीमा फलेको तरकारी बेच्नकै लागि डोकोमा बोकेर दाङको तुलसीपुर जानुहुन्थ्यो । तरकारी फलाउन भन्दा बेच्न मुश्किल भएपछि उहाँले तरकारी खेती गर्न छोड्नुभयो । तरकारी रोप्नेबारीमा मकैँ, धान, गहुँ लगाएतका बाली लगाउदैँ आउनुभएको थियो ।

कपुरकोटक्षेत्रमा बेमौसमी तरकारीको सम्भावना देखेर झण्डै दुई दशक पछि फेरी तरकारी खेती सुरु गर्नुभयो । त्यसबेला किसानले फलाएको तरकारी एकीकृत गरेर हाटबजार मार्फत बिक्री गर्न सुरुवात भएको थियो । ‘त्यो बेला पनि तरकारी डोकोमा बोकेर हाटवजार सम्म लैजान धौँ थियो’ विगत सम्झदै उहाँ भन्नुहुन्छ ‘जव गाउँमै सडक आयो, तरकारी किन्न गाडी ल्याएर व्यापारी घरसम्मै आउने भए, बजार पठाउन समस्या भएन, अनि तरकारी खेतीमा लाग्ने जागर चल्यो ।’

उहाँले यो बर्ष डेढ विघा भन्दा बढी क्षेत्रमा तरकारी खेती गर्नुभएको छ । ‘टमाटर, काउली, बन्दागोभी, प्याज, सिमि, भेडेखुर्सानी सबै गर्दा डेढ विघा जति होला, पहिले घरखर्च चलाउन पुग्थ्यो, तीन बर्षदेखी बचत हुन थालेको छ, बर्षमा १२ लाख आम्दानी हुन्छ, खर्च कटायो भने पनि आधा बढी बचत हुन्छ’ बोटमै पाकेका टमाटर देखाउँदै उहाँ भन्नुहुन्छ ‘यिनि टमाटरका दाना होइन्, सुनका डल्ला हुन्, यिनि हाम्रा पैसा हुन् ।’

‘मैले तरकारी बेचेरै जग्गा पनि जोडे, वजारीकरणमा पनि समस्या छैन्, दाङ, नेपालगन्ज, बुटवलबाट व्यापारी बारीमै आउँछन्, हाम्रो खर्च भनेकै मल, वीउ र विषादीमा खर्च बढी हुन्छ’ उहाँ थप्नुहुन्छ ‘सिँचाईको समस्या छैन्, समस्या भनेकै कामदार पाउन मुश्किल छ, उ बेला तरकारी फल्थ्यो, किन्ने कोही हुन्थेनन्, अहिले तरकारी फल्नुपर्छ, बिक्री भएन् भन्ने हुदैन्, भाउ तलमाथि होला, तर खेतबारीमा कुहिने अवस्था आउँदैन् ।’

त्रिबेणी गाउँपालिका–५ टुनिबोटका निर्मला कठायतले १२ बर्षदेखी तरकारी खेती गर्दै आउनुभएको छ । सुरुवातका दिनमा घरमै खानका लागि तरकारी खेती गर्नुभएका उहाँले पछिल्लो दशक देखी व्यावसायिक तरकारी खेती थाल्नुभएको हो । यस पटक मात्रै उहाँले १४ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्नुभएको छ । बेमौसमी तरकारी खेती गर्दै आउनुभएका उहाँको खेतबारीमा अहिले लटरम्म टमाटर फलेको छ ।

टमाटर पाकेर खेतबारी नै राताम्य देखिन्छ । झण्डै तीन साता अघि देखी नै टमाटर बेच्नु थाल्नुभएका उहाँलाई अहिले टमाटर टिप्ने, ग्रेडिङ गर्ने र वजार पठाउने हतार छ । बेमौसममा गरिएको खेती भएकाले बर्खा लागेपछि टमाटर कुहिने सम्भावना बढी हुदाँ पाकेको टमाटर टिप्दै बेच्दै गर्नमा उहाँ ब्यस्त हुनुहुन्छ । टमाटरसँगै बन्दागोभी, सिमि लगाएतका तरकारी पनि रोप्नुभएको छ ।

‘बजार भाउको आँकलन गर्ने, टमाटर टिप्ने र बजार पठाउने कार्यमै ब्यस्त छौँ, तरकारी भएकाले भाउ पर्खेर २÷४ दिन पर्खिदा कुहिने डर बढी हुन्छ, यहीको हाटवजार मार्फत तरकारी निर्यात गरिरहेका छौँ’ उहाँ भन्नुहुन्छ ‘तरकारी बेचेर बर्षमा ८ लाख बढी नै आम्दानी हुन्छ, खर्च कटाउदा पनि आधा बचत हुन्छ ।’ टमाटर बेचेपछि यही खेतमा धान, मकैँ लगाएतका बर्खे खाद्यान्न बाली रोप्नुपर्ने भएकाले यसक्षेत्रका सबै किसानलाई तरकारी टिप्ने र बेच्ने हतारो भएको उहाँको भनाइ छ ।

हाटवजारमै टमाटर ७० रुपैँया प्रतिकिलो

यो पटक किसानले लगाएको तरकारीले राम्रो बजार मुल्य पाउने आँकलन गरिएको छ । जेठ महिनाको अन्त्य तिरबाट सुरु भएको कपुरकोट कृषि हाटबजारमा अहिले टमाटरले राम्रो मुल्य पाएको छ । जेठको अन्त्यतिर प्रतिकिलो २० देखी ३० रुपैँया प्रतिकिलोमा कारोबार भएको टमाटर झण्डै तीन साताको अवधिमा टमाटर प्रतिकिलो ७० रुपैँया प्रतिकिलो पुगेको छ । फुटकरमा किसानले ८० रुपैँया प्रतिकिलो सम्म बेचेका छन् ।

यस्तै बन्दागोभी २० देखी २५ रुपैँया, फुलगोभी ४० देखी ४५ रुपैँया, भेडेखुर्सानी ५५ देखी ६० रुपैँया प्रतिकिलोमा खरिद बिक्री भैरहेको छ । यस्तै मसिनो खुर्सानी १३५ देखी १४० रुपैँया, अकबरे खुर्सानी २०० रुपैँया, सिमि १३५ देखी १४० रुपैँया, लोकल काँक्रा ४५ देखी ५० रुपैँया प्रतिकिलोका दरले खरिदबिक्री भैरहेको कपुरकोट कृषि उपज वजार सञ्चालक समितिले जनाएको छ ।

गतबर्ष मात्रै कपुरकोट क्षेत्रका किसानले ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेर २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया हात पारेका थिए ।

साउन देखी कृषि एम्बुलेन्स सञ्चालन गर्छौ : अध्यक्ष शर्मा

कपुरकोट क्षेत्रका किसानको सहजताका लागि साउनको पहिलो साता देखी कृषि एम्बलेन्स सञ्चालन गर्न थालिएको छ । कपुरकोट कृषि उपज सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले किसानको तरकारी बिक्रीमा सहजताको लागि दुई वटा कृषि एम्बुलेन्स खरिद भैसकेको र यही साउनको पहिलो साता देखी सञ्चालनमा आउने बताउनुभयो ।

यस्तै किसानको तरकारी बिक्री वितरणमा सहजताका लागि कपुरकोटमा १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यस्तै यसै साता देखी कपुरकोटको तरकारीमा देखिन सक्ने रोगकिरा र माटो परिक्षणका लागि कृषि मिनिल्याव सञ्चालन गरिने छ । ‘कपुरकोट क्षेत्रमा मात्रै करिब ३२ सय बढी किसान बेमौसमी तरकारी खेतीमा आवद्ध हुनुहुन्छ, किसानको उत्पादनलाई बढाउनको लागि किसान प्रोत्साहन र सहुलियतका कार्यक्रम सञ्चालन गरिरहेका छन्’ उहाँले भन्नुभयो ।

निरन्तरको झरीले टमाटरलाई असर गर्छ : कृषि कार्यालय

कृषि विकास कार्यालय सल्यानले तरकारी खेतीमा किसानको लगाव बढ्दै गएको भएपनि निरन्तरको झेरीले टमाटर लगाएतमा असर गर्ने जनाएको छ । कार्यालयका प्रमुख रेशम कुमार बस्नेतले लामो समयको खडेरीपछि निरन्तर झरी लागेकाले पाकेको र पाक्दै गरेको टमाटरमा असर पर्ने बताउनुभयो । ‘खेतमा गरिएको टमाटर खेतीमा पानीको निकास हुदैँ, पानी जम्मा भयो भने टमाटर सँगै माछेखुर्सानी, भेडेखुर्सानी लगाएतमा असर गर्छ’ उहाँले भन्नुभयो ।

उहाँले खेतबारीमा पानी जम्मा हुन नदिएर तर्काउन, बेच्न तयार भैसकेको तरकारी मौका छोपेर बिक्री गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस