सल्यान, ३० असार ।
सल्यानको एकै पालिकाबाट साढेँ २ करोड रुपैँयाका खसी निर्यात भएका छन् । जिल्लाको त्रिबेणी गाउँपालिकाबाट चालु आर्थि बर्षको साउन देखी असारको अन्तिम साता सम्ममा २ करोड ३६ लाख ३० हजार ६२९ रुपैँया बराबरका खसी निर्यात गरिएको हो । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत एक बर्षमा जिउदो एक हजार २ सय २४ वटा खसी निर्यात गरिएको हो ।
गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले गाउँपालिका भरिमा जिउदो खसी १०० केजी भन्दा माथिका बिक्री गर्ने कृषकको संख्या १ सय ८२ रहेको बताउनुभयो । ‘त्रिबेणी गाउँपालिका पशुपालनको राम्रो सम्भावना बोकेको क्षेत्र हो, पालिकाभरीमा २६ हजार ८ सय ८ बाख्राबोका रहेका छन्’ उहाँले भन्नुभयो ‘उत्पादनको आधारमा अनुदान दिदा कृषक बाख्रापालनमा होशिएका छन् ।’
उहाँका अनुसार गाउँपालिकाले सहकारी मार्फत बार्षिक जिउदो खसी १०० केजी भन्दा माथी बिक्री गर्ने पालिकाका कृषकलाई प्रती केजी २० रुपैयाँको दरले अनुदान दिने गरेको छ । यस बर्षमात्रै कृषकको उत्पादनका आधारमा कृषकलाई ६ लाख ८५ हजार ४० रुपैया अनुदान बितरण गरिएको छ । ‘कृषकले सहकारीमार्फत खसी बिक्री गर्छन्, उनीहरुले बर्षमा एक सय केजी भन्दा बढीका खसीबोका बेचेमा पालिकाले प्रति किलोमा २० रुपैँया अनुदान दिन्छ’ उहाँले भन्नुभयो ।
जसअनुसार दुर्गा भावानी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ९२ जना कृषकले ६ सय १८ वटा खसी बिक्री गर्दा ३ लाख ९३ हजार ३ सय ४० रुपैँया अनुदान हात पारेका छन् । यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ३५ कृषकले २ सय १५ खसी निर्यात गर्दा एक लाख ५ हजार ४ सय, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ५१ कृषकले ३ सय ८१ खसी निर्यात गर्दा एक लाख ४५ हजार अनुदान हात पारेका छन् ।
यस्तै त्रिबेणी पशुपालन सहकारी संस्था मार्फत ४ जना कृषकले १० वटा खसी निर्यात गर्दा ९ हजार ८ सय रुपैँया अनुदान कृषकले हात पारेका छन् । गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले उत्पादनमा बृद्धि गर्न कृषकको उत्पादनकै आधारमा अनुदान दिने कार्य गरिएको बताउनुभयो । ‘पशुपालनको क्षेत्रमा यो नौलो कार्य हो, जसले उत्पादन गरेर सहकारी मार्फत खसीबोका बिक्री गर्छ उसले अनुदान पाउने हो’ उहाँले भन्नुभयो ।
अध्यक्ष रावतले पशुपालनमा कृषकलाई आकृर्षित गर्न र नश्ल सुधार गर्न उन्नतजातका बाख्रा तथा बोका वितरण गर्दै आएको बताउनुभयो । ‘हामी पशुपालन व्यावसाय गर्ने कृषकलाई आवश्यक तालिम तथा प्राविधिक ज्ञान दिन्छौँ, आहारा बृद्धिका लागि घाँस खेती बिस्तार, पशु उपचार तथा परामर्श लगाएतका सेवा दिदैँ आएका छौँ’ उहाँले भन्नुभयो ‘गाउँपालिकाकै वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र तथा वडा नम्बर १, ३ र ६ लाई भैँसी पकेट क्षेत्रका रुपमा विकास गरेका छौँ ।’
यहाँका कृषकले घर–घरमा बाख्रापालन गर्ने गरेका छन् । व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आर्कषित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । यहाँ उत्पादित खसीबोका काठमाडौं, पोखरा, दाङ लगायतका प्रमुख शहरमा बढी माग हुन्छ । जंगलमा घाँस सँगसँगै जडिबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसीबोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका छन् ।