छत्रेश्वरी मन्दिर छायाँक्षेत्र पुग्न तीन करोड बढी लागतमा पर्यटकीय पदमार्ग निर्माण हुँदै

सल्यान, ९ साउन ।
सल्यानको प्रशिद्ध धार्मीक तथा पर्यटकीय क्षेत्र छत्रेश्वरी सतिपिठ सम्म पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिकाको पहलकदमीमा वडा नं ६ छायाक्षेत्रमा अवस्थित मन्दिर सम्म पर्यटन विभाग मार्फत तीन करोड बढीको लागतमा पदमार्ग लगाएतका संरचना निर्माण गरिने भएको हो । गाउँपालिकाको तयार गरेको डिपिआर बमोजिम पर्यटन विभागको बजेटबाट ठेक्का प्रक्रिया मार्फत पद मार्ग संगै यात्रु प्रतिक्षालय, र सार्वजनिक शैचालय लगाएतका संरचना निर्माण गरिने भएपछि स्थानीयहरु खुसी भएका छन् । छत्रेश्वरी ६ शंखमुलका रमेश बहादुर यरीले पदमार्ग निर्माण भएमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शंखमुल नजिकबाट पैदल यात्रा मार्फत छत्रेश्वरी मन्दिरसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग र अन्य भौतिक संरचना निर्माण गर्न लागिएको हो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्रहरु रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पूर्वाधार निर्माण तथा प्रचार प्रसार र प्रवद्र्धनका कार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकाले यस अघि डिपिआर तयार गरेको थियो, पर्यटन विभागमा पदमार्ग संगै अन्य संरचना निर्माणका लागि लेखिपठाएका थियौँ, त्यस अनुसार काम हुनेभएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आफुहरुले पर्यटन क्षेत्रलाई पनि महत्व दिएर काम गरिरहेको बताउनुभयो ।

छत्रेश्वरीलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन सहित पदमार्गबाट छत्रेश्वरी मन्दिर सम्म यात्रा गर्नका लागि पर्यटकहरुलाई सहजता प्रदान गर्न पदमार्ग र आवश्यक संरचनाहरु निर्माण गर्न लागिएको हो । ३ करोड ११ लाख रुपैयाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि सानु कन्ट्रक्शन, काठमाण्डौँ जोरपाटीले २ करोड ६४ लाखमा २०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग छायाँक्षेत्रमा पतन भएको किवंदन्ती छ । बली नचढ्ने शक्तिपिठको रुपमा रहेको छत्रेश्वरीको महत्व बताउँदै मन्दिरका नागाबाबा उमेश गिरीले छत्रेश्वरी क्षेत्रको धार्मीक तथा ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

२०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको भएपनि आगामी बैशाख सम्म योजनाको काम सक्नेगरी आफुहरुले तयारि गरेको निर्माण व्यवसायी फुर्वा नामगेल शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘काम गर्ने ठाउँ पनि सहज लाग्यो, योजनाको लागि १४ महिनाको समय छ, छिटोमा फागुन र ढिलोमा बैशाख सम्म काम सम्पन्न गर्छौँ ।’ साउन १५, १६ गते सम्ममा निर्माण सामग्री र कामदार आयोजना स्थलमा आउने शेर्पाको भनाई छ ।

राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ । छत्रेश्वरी मन्दिरको पर्यटन प्रवद्र्धन भएमा यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक विकासमा समेत टेवा पुग्ने अपेक्षा छ । छत्रेश्वरी मन्दिरमा पदमार्ग तथा भौतिक संरचना निर्माणका लागि छत्रेश्वरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित मिति २०८०।१२।१६ मा नेपाल पर्यटन वोर्डमा पत्राचार गरेको थियो ।

सल्यानमा विभिन्न धार्मीक तथा ऐतिहाँसिक सम्पदाहरु छन् । पछिल्लो समय धार्मीक तथा पर्यटकीय विकासका लागि स्थानीय तहहरुले पहलकदमी लिएका छन् भने प्रदेश तथा संघीय सरकारबाट धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानी समेत बढ्दै गएको देखिन्छ । जिल्लाको पहिचान तथा विकासका लागि धार्मीक सम्पदाहरुको महत्व धेरै नै हुने गर्दछ ।

प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले सल्यान धनी मानिन्छ । यहाँ कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, कुमाख लेख, शंखपार्क, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, कछुवा दह लगाएतका क्षेत्रहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित