सल्यान, १० साउन ।
नयाँ आर्थिक वर्ष सुरू भएसँगै सल्यानमा जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेट अनुसार सबै क्षेत्रमा काम गर्ने दक्ष तथा अदक्ष सबैको दैनिक ज्याला बढेको हो ।
दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको विगत दुई बर्ष देखी जिल्लामा ज्याला बृद्धि भएको थिएन् । तर यस आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै दश प्रतिशले ज्याला बृद्धि भएको छ । यस पटक सरकारी सँगै निजी तथा गैरसरकारी संघ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, नकर्मीको ज्यालामा १०० रुपैयाँ बढेको छ । यसअघि दैनिक १००० रुपैयाँ पाउने मजदूरले अबदेखि ११०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले श्रमिकको ज्याला वृद्धि गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो । जस अनुसार अदक्ष कुल्ली र ज्यामीको प्रतिदिन ७ सय १५ रुपैयाँबाट बढाएर ७ सय ८० कायम गरिएको छ । उहाँका अनुसार ज्यामी नाइकेको ८ सय बाट बढाएर ८ सय ८० रुपैयाँ ज्याला पुगेको छ ।
यस्तै भरियाको प्रतिदिन ७ सय ४० रुपैँयाबाट बढाएर ८ सय १०, हाउस वायरिङको ८ सय २५ बाट ९ सय, नर्सरी नाइकेको ६ सय बाट ६ सय ६०, बन हेरालुको ६ सय बाट ६ सय ६०, सामाजिक परिचालकको ८ सयबाट ८ सय ८०, दक्ष पलम्बरको ८ सय बाट ८ सय ८० रुपैँया निर्धारण गरिएको छ ।
यस्तै भवन निर्माण सम्बन्धि सामाग्री, छाना सम्बन्धि निर्माण सामाग्री, खानेपानी तथा बाथरुम सम्बन्धि निर्माण सामाग्री, रंगरोगन सम्बन्धि सामाग्री, इनार तथा टियुलेट सम्बन्धि सामाग्री, ढुवानी सम्बन्धि सामाग्रीको दररेट बढेको छ । तर फलामजन्य निर्माण सामाग्री, सडक निर्माण सम्बन्धि निर्माण सामाग्री, काठ, प्लाइउड तथा सिसा सम्बन्धि सामाग्री, हार्ड वेयर सम्बन्धि निर्माण सामाग्री, बिद्युक्त सम्बन्धि सामाग्री औजार तथा उपकरण सम्बन्धि सामाग्रीको दररेट भने यथावत राखिएको छ ।
‘खास गरेर जिल्लामा उत्पादन हुने सामानको पर्याप्तता, बजार भाउको मुल्य र जिल्ला बाहिरबाट आयात गर्नुपर्ने सामानको दररेटमा दुवानी रकम जोडेर यस बर्षको जिल्ला दररेट सार्वजनिक गरेका छौं’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो ‘नयाँ दररेटले श्रमिक र अन्यलाई केही राहत मिल्छ भन्ने हाम्रो अपेक्षा छ ।’ केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उहाँको भनाइ छ ।
‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोबार हुनेछ’ उहाँले भन्नुभयो ‘आफूखुसी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारबाही गरिनेछ ।’ जिल्लामा उत्पादन हुने कृषि तथा पशुजन्य उत्पादनको हकमा सम्बन्धित विभागको स्वीकृत विभागीय मापदण्ड तथा छिमेकी जिल्लाहरुको स्वीकृत जिल्ला दररेट अनुसार जिल्लामा दररेट कायम गर्ने निर्णय भएको छ ।
लगातार २ बर्षसम्म नबढेको श्रमिकको ज्याला बर्ष बढेपछि श्रमिकहरु भने खुसी भएका छन् ।