बिद्यालयमा पुस्तकालय स्थापना भएपछि बिद्यार्थीको पढाईमा सुधार

उहाँले भन्नुभयो ‘ठुलो कक्षाका लागि मात्रै पुस्तकालय हुनुपर्छ भन्ने मान्यता गलत हो, तल्लो कक्षाबाट नै पढ्ने बानीको विकास गराउन आवश्यक छ ।’

सल्यान, १५ साउन ।

सल्यानका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भएपछि त्यहाँ अध्ययनरत बालबालिकाको पढाईमा सुधार बन्दै जान थालेको पाइएको छ । पुस्तकालयमा विद्यालय पाठ्यपुस्तक लगायत सामान्य ज्ञान, कला, साहित्य, विज्ञान र मानवीय रुचिका पुस्तक पाइने भएकाले बालबालिकाको पढाइ राम्रो हुनुका साथै उनीहरु रमाउँदै विद्यालय जाने गरेको पाइएको हो । माद्यामिक तहका बिद्यालयमा पहिल्यै पुस्तकालय स्थापना भएपनि प्राथमिक तहमा भने पछिल्लो चार बर्षयता मात्रै पुस्तकालय स्थापना गर्न थालिएको हो ।

विद्यालय पुस्तकालयमा विद्यालय पुस्तक, सामान्य ज्ञान, विभित्र खालका अंग्रेजी र नेपाली भाषाका शब्दकोष, पत्रपत्रिका तथा मानवीय रुचिका पुस्तक सहजै रूपमा पाइने भएकाले बालबालिकाले फुर्सदको समयमा पुस्तकालयको सदुपयोग गर्ने गरेको पुस्तकालय स्थापना गरेका सामुदायिक विद्यालयले जनाएका छन् । आजभोली कक्षा १, कक्षा २ र कक्षा ३ का बालबालिकाले पुस्तकालयमा पुग्ने र स्तरअनुसारका बालपुस्तक, विषयवस्तुमा आधारित बालपुस्तक छानिछानि पढ्ने गरेको पाईएको छ ।

रुम टु रिड, सल्यान जिल्लाका ६ वटा पालिका शारदा नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाको सहकार्य र दलित विकास समाजको साझेदारीमा सञ्चालित साक्षरता कार्यक्रम मार्फत हालसम्म जिल्लाका १ सय २२ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । यसै बर्ष थप २५ बिद्यालयमा पुस्तकालय स्थापना हुदैँ छ । बिद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्ने बानीमा सुधार आएको हो ।

राष्ट्रिय माध्यमिक बिद्यालय दार्माकोटका शिक्षक डम्बर बहादुर रोकायले पुस्तकालयले बालबालिकामा पढाईतर्फ जागरुक हुन प्रेरणा दिएको बताउनुभयो । ‘तल्लो कक्षाका बालबालिकाको लागि पुस्तकालय हुन्थेन्, उनीहरुले कक्षागत पुस्तक मात्रै पढ्ने गरेका थिए, अहिले पुस्तकालय स्थापना भएपछि बालबालिका उत्साहित छन्, उनीहरुले जान्ने, पढ्ने र बुझ्ने खालका पुस्तक छन्’ उहाँले भन्नुभयो ‘भर्खरमै अक्षर चिनेका बालबालिकाका लागि पुस्तकालय नयाँ कुरा सिक्ने थलो बनेको छ ।’

शिद्ध आधारभूत बिद्यालय फलाबाङका शिक्षिका रिता वली रावतले बिद्यालयमा अध्ययनरत ९८ जना बालबालिकाका लागि ८ सय बढी पुस्तक पुस्तकालयमा राखिएको बताउनुभयो । ‘बालबालिकाको कक्षाअनुसार स्तरीकरण गरेर पुस्तक राखेका छौँ, हप्तामा एक दिन पुस्तकालय घण्टी नै बनाएका छौँ, आफ्नो रुची, चाहाना, सिकाईको स्तरअनुसारको पुस्तक छानेर बालबालिकाले बढ्ने गरेका छन्’ उहाँले भन्नुभयो ‘जसले गर्दा पढाउन सजिलो हुन्छ, तल्लो कक्षामै बालबालिकाले नेपाली बोल्न, पढ्न र लेख्न सक्ने भएका छन् ।’

त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयमा पुस्तकालय स्थापना भएपछि बालबालिकाले आफूहरूसँग नभएका पुस्तक पुस्तकालयमा आएर पढ्न थालेको बताउनुभयो । ‘अहिले पालिकाभित्रका १६ वटा बिद्यालयमा पुस्तकालय छ, हामीले बाँकी १२ वटा बिद्यालयमा पुस्तकालयले स्थापना गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो ‘ठुलो कक्षाका लागि मात्रै पुस्तकालय हुनुपर्छ भन्ने मान्यता गलत हो, तल्लो कक्षाबाट नै पढ्ने बानीको विकास गराउन आवश्यक छ ।’

साक्षरता कार्यक्रमले पुस्तकालय स्थापना भएका बिद्यालयका पुस्तकालय व्यवस्थापकलाई पुस्तकालय व्यवस्थापनका बारेमा तालिम दिदैँ आएको छ । पुस्तकालय भनेको ज्ञानको केन्द्र भएकोले सम्पूर्ण बालबालिकाले पुस्तकालयको उपयोग गर्न पाउनुपर्छ भत्रे मान्यताअनुरूप व्यवस्थित पुस्तकालयका बारेमा पुर्नताजकीय तालिम दिइएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिनुभयो । यसका अतिरिक्त पठन क्रियाकलाप अन्तर्गत सस्वर पढाइ, सँगसँगै पढाइ, जोडी र स्वतन्त्र पढाइ, सामूहिक पढाइ र अभिनयात्मक पढाइमा विद्यार्थीलाई सहभागी गराइँदै आएको उहाँको भनाई छ ।

हाल त्रिबेणी गाउँपालिकाका ६ जना, छत्रेश्वरी गाउँपालिकाका ६ जना, बागचौर नगरपालिकाका ९ जना र दार्मा गाउँपालिकाका ३ जना पुस्तकालय व्यवस्थापकका लागि तालिम सञ्चालन भैरहेको छ । आइतबार देखी सुरु भएको तालिम मंगलबार सकिने छ । तालिमको सहजीकरण सिनियर कार्यक्रम सहायक वलीसँगै साक्षरता सहजकर्ता सिता गिरी र कमल महतराले गरिरहनुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित