करदाता सेवा कार्यालय सल्यानद्धारा एकै बर्षमा ४७ करोड राजस्व संकलन

एक वर्षको अवधिमा ६२ करोड ७९ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा कम ७६ प्रतिशत मात्रै राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

सल्यान, २१ साउन ।

करदाता सेवा कार्यालय सल्यानले एकै बर्षमा ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८०/०८१ मा ४७ करोड ६९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । एक वर्षको अवधिमा ६२ करोड ७९ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा कम ७६ प्रतिशत मात्रै राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

२०७७ सालमा सल्यानसहित रुकुमका नागरिकको सहजताका लागि सल्यानको श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । कर सम्बन्धी काम श्रीनगरमा नै भएपछि नागरिक तथा व्यवसायी दाङ जानुपर्ने बाध्यता अन्त्य भएको छ । कर अधिकृत चिरन्जीवी खड्काले विकट भुगोल, कर सचेतनाको कमी, मिसम्याचमा पर्ने डर लगाएतका कारण यो बर्ष लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको बताउनुभयो ।

यस्तै एक वर्षमा तीन हजार एक सय ८७ जनाको व्यक्तिगत स्थायी लेखा नम्बर र एक हजार दुई सय २१ व्यावसायिक स्थायी लेखा नम्बर जारी गरिएको छ । यो अवधिमा एक हजार दुई सय १० वटा अन्तःशुल्क इजाजत जारी तथा नविकरण गरिएको छ । यस्तै ११ पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै एक सय तीन पटक बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा ऐन नियमको उल्लंघन गर्नेलाई जरिवानामार्फत एक लाख ७६ हजार रुपैयाँ संकलन भएको छ । यो अवधिमा सबै खाले केही फर्म खारेजी भएका छन् । व्यवसायहरुको कारोवार नभएका, फर्मका सञ्चालक विदेश गएका तथा मृत्यु भएका कारण केही फर्म खारेजीमा परेको कर अधिकृत खड्काले जानकारी दिनुभयो ।

‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’ उहाँले भन्नुभयो– ‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’ अहिले यस क्षेत्रमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरु भएको छ ।

‘गएको वर्ष कर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरेका हौं, आर्थिक ऐनमा भएको करसम्बन्धीको व्यवस्था, करको दायरा, समयमै कर तिर्नुपर्ने, सबैले कर तिर्नुपर्ने, कर छलि गर्न नहुने लगायतका विषयमा शिक्षा दिदै आएका छौं’ उहाँले भन्नुभयो– ‘अहिले नागरिकलाई सहज भएको छ, कर छलिका घटना हाम्रो कार्यक्षेत्रमा भएको पाइँदैन ।’

अहिले व्यक्तिगत प्यान, व्यावसायिक प्यान र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तः शुल्क विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु नपर्ने उहाँको भनाइ छ । यस कार्यालयले गएको आर्थिक वर्ष २०७९/०८० मा ५० करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस