सल्यानमा एकै बर्षमा १ हजार ३ सय ६ महिला बने जग्गाको मालिक !

‘महिलाको नाममा जग्गा पास हुनु सरकारले दिएको छुटको कारण पनि हुनसक्ला तर पहिले पुरुषले नै महिलाको नाममा जग्गा पास गर्न आनाकानी गर्थे, अहिले धमाधम पास भैरहेको छ, यसले महिलामा आत्मविश्वास बढेको देखिन्छ, व्यावसाय गर्न होस् या आत्मनिर्भरका काममा जोडिन उनीहरुलाई सहज भएको छ’ उहाँले भन्नुभयो ।

सल्यान, २५ साउन ।

रजिस्ट्रेशनमा छुट पाउने प्रावधानले सल्यानमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । केही वर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा २५ प्रतिशत छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भू–स्वामित्व बढेको हो ।

जमिनमा महिलाको स्वामित्व बढाउदा छुट पाइने भएपछि महिलाहरूको नाममा जग्गा पास गर्ने क्रम निरन्तर बढ्दै गएको छ । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा महिलालाई सरकारले २५ प्रतिशत छुटको सहुलियत दिएको छ । यसैको फाइदा उठाउँदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराई रहेका छन् । यो प्रावधान नहुँदा सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिलाकै नाममा जग्गा पास भईरहेको छ ।

मालपोत कार्यालय सल्यानका अनुसार एकैबर्षमा जिल्लाका एक हजार तीन सय छ महिला जग्गाको मालिक बनेका छन् । आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिकातर्फ एक हजार आठ सय ३८ र गाउँपालिकातर्फ एक हजार छ सय ७५ लिखत पारित भएका छन् । ति मध्ये शहरीतर्फ ७ सय १५ र ग्रामिणतर्फ ५ सय ९१ गरि एक हजार तीन सय छ जना महिलाकै नाममा लिखत पारित भएको कार्यालयका सुचना अधिकारी दिपक बुढाथोकीले जानकारी दिनुभयो ।

जसबाट महिलाले रजिस्ट्रेशनमा ३४ लाख २२ हजार ३ सय ८६ रुपैँया छुट पाएका छन् । ‘पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दो छ, एकातिर रजिस्ट्रेशनमा कुल रकमको २५ प्रतिशत छुट हुन्छ, अर्को तर्फ प्रायः पुरुष रोजगारीका लागि घरबाहिर जाने भएकाले जग्गा खरिद गर्दा होस् या ऋण लिदा वा अन्य काम गर्दा महिलाले नै जग्गाको कारोवार गर्ने गरेको पाईएको छ’ उहाँले सल्यान टुडेलाई भन्नुभयो ‘महिलाकै नाममा भू–स्वामित्व बढ्नु आफैमा सकारात्मक पक्ष हो ।’

यस्तै दलित तीन जना र बृद्ध एक जनाले रजिस्ट्रेशनमा छुट पाएका छन् । यस्तै जनजाती, शहिद परिवार, अपांगता भएका व्यक्तिले पनि २५ प्रतिशत छुट पाउने प्रावधान रहेको छ । तर लिखत पारित गर्न आउँदा सिफारिस वा परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । जिल्लाभर ७२ हजार ६ सय १९ जग्गाधनी रहेका छन् भने २ लाख ५३ हजार ६ सय ९९ कित्ता संख्या रहेका छन् ।

महिलाअधिकारकर्मी मीना बुढाथोकीले महिलाको नाममा सम्पती बढ्नु राम्रो पक्ष भएको बताउनुभयो । ‘महिलाको नाममा जग्गा पास हुनु सरकारले दिएको छुटको कारण पनि हुनसक्ला तर पहिले पुरुषले नै महिलाको नाममा जग्गा पास गर्न आनाकानी गर्थे, अहिले धमाधम पास भैरहेको छ, यसले महिलामा आत्मविश्वास बढेको देखिन्छ, व्यावसाय गर्न होस् या आत्मनिर्भरका काममा जोडिन उनीहरुलाई सहज भएको छ’ उहाँले भन्नुभयो । महिलाको नाममा जग्गाको स्वामित्व आएपनि उपभोग तथा किनबेचमा भने पुरुषहरू नै हाबी हुने गरेको उहाँको गुणासो छ ।

झण्डै तीन करोड राजस्व संकलन

मालपोत कार्यालय सल्यानले एक बर्षमा झण्डै तीन करोड रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक बर्ष २०८०/०८१ मा २ करोड ८८ लाख ५० हजार ५ सय ९५ रुपैँया राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्षमा ३ करोड ३१ लाख ३५ हजार ७ सय ९० रुपैँया राजस्व संकलन भएको थियो । बिशेषगरी जग्गाको कित्ताकाट रोक्का हुदा घरजग्गा कारोबार कम भएकाले रावस्व संकलनमा कमी आएको सुचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार संकलन भएको राजस्वमध्ये १ करोड १२ लाख ५८ हजार ७ सय १२ रुपैँयामा प्रदेशमा, १ करोड ८७ लाख १३ हजार ९७ रुपैँया दश वटै स्थानिय तहमा पठाईएको छ भने १८ लाख २५ हजार २९ रुपैँया बाँडफाँड हुन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस