सल्यान, ५ भदौँ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–७ लाम्पाटाका २९ बर्षिय तुलसी थापाले आफ्नो वाल्यकालमा कहिल्यै वनमारा देख्नुभएको थिएन् । सानो हुदा लेखबेसी सामुदायिक वनमा गोठालो जाने, घाँस दाउरा गर्ने, पानी पधेँरो गर्ने उहाँलाई त्यो बेलामा सल्ला, भिमल, पैयु लगाएतका बोटविरुवा देख्नुभएको थियो । जमिनभरि घाँस उम्रेको हुन्थ्यो । बस्तुभाउलाई घरआसपासमै चरिचरण प्रशस्त थियो ।
‘१०÷११ बर्ष पहिलेको कुरा हो, चोटपटक लागेमा ‘माउवादी झार’ ले छिट्टै सन्चो बनाउछ रे भन्ने गाउँमा हल्ला चलेको याद छ, कसैलाई चोट लाग्यो भने अर्को गाउँमा पुगेर यही झार ल्याउने र लगाउने चलन थियो, त्यो बेला गाउँमा कहिपनि यो झार थिएन्, त्यसको २÷३ बर्षपछि कतै कतै माउवादी झारका बोट देखिएका थिए’ विगत सम्झदैँ उहाँ भन्नुहुन्छ ‘पछिल्लो तीन बर्षमा यो झार यति फैलियो कि, वन पाखा, खेतवारी, पानीपधेँरा, बाटाघाटा जतापनि यसैको झाडी मात्रै छ ।’
त्यो बेला माउवादी झार भन्ने गरिएपनि अहिले यसलाई वनमारा भन्ने गरिएको उहाँ बताउनुहुन्छ । ‘वन कतै खाली छैन्, जग्गाजमिन कतै खाली छैन्, जतापनि वनमाराले ढाकेको छ, त्यो बेला प्रसस्त घाँस उम्रने ठाउँमा पनि अहिले वनमारा छ, ठुला रुख बाहेक वनमारा भएको क्षेत्रमा साना बिरुवा उम्रनै पाएका छैनन्’ उहाँले थप्नुभयो ‘यसले त सिँगो वन नै स्वाहा बनायो ।’
अर्का स्थानिय हेर्म थापाले वनक्षेत्र ढपक्कै ढाकेको वनमाराले खेतवारी पनि ढाकेर कृषिकर्म नै गर्न नपाईने होकी भनेर चिन्ता व्यक्त गर्नुभयो । वनमारा हटाउने कुनै उपाय नभएकाले यसले झन् असर गरिरहेको उहाँको भनाइ छ । ‘यसको फूल र बोटबाट फैलिन्छ, वनमाराको झाडी काटेर सम्भावना छैन्, फेरि जराबाट उम्रन्छ, सकेसम्म उखेरै फाल्ने हो, त्यो पनि सम्भव देखिन्न्’ उहाँले भन्नुभयो । छिमेकी वनमा लागेको आगो नियन्त्रण गर्न नसक्दा ८ बर्षपछि यस वनमा पनि लागेकाले केही हदसम्म कम हुने उहाँको आँकलन छ ।
वनमाराका झाडी धेरै भयो, बदेँल, घोरल, रतुवा, दुम्सी, खरायो लगाएतका वन्यजन्तु यसैमा लुक्ने र खेतीपातीमा क्षति गर्ने गरेको उहाँले बताउनुभयो । ‘पहिले त केही थाहा थिएन्, अहिले त वन्यजन्तको आतंक छ, रातभर बासीमै बस्नुपर्छ, जनावरले बचाएको बाली मात्रै हाम्रो हो’ उहाँले भन्नुभयो । यस पटक वनमारा कटान गरेर बाँस, काउलो, रिट्ठा र तेजपात १६÷१६ सय विरुवा र ३२ सय टिमुरका विरुवा कम्तिमा ९ हेक्टरमा रोपिएको उहाँको भनाइ छ ।
सल्यानमा के–के पाइन्छ मिचाहा प्रजाति ?
सल्यानमा कालो वनमारा, सेतो वनमारा, बनफाँडा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, काँडे लुडें, सत्यनाशी, कालो कुरो, चित्लागें, वेशरम, वन तुलसी झार, लज्जावती झार, चरिअमिलो, पाति झार, भेडेँ कुरो जस्ता एक दर्जनभन्दा बढी मिचाहा प्रजाति विभिन्न ठाउँमा फैलिरहेको पाइन्छ । विश्वव्यापी रुपमा नै जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ ।
रैथाने प्रजातिलाई पछि पार्ने वा तिनकै शिकार गर्ने त्यस्ता प्रजातिको असर विश्वभरका विभिन्न पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा पाइने गरेको छ । उच्च हिमालदेखि जलाधार क्षेत्र र समुद्रसम्म सबैतर्फ ति प्रजाति फैलिइसकेका छन् । त्यसैले गर्दा पहाडी क्षेत्रमा फैलिँदो यो समस्याबारे एउटा बृहत् अध्ययन गरी समाधानका लागि उचित रणनीति अपनाउनुपर्ने आवाज उठ्न थालेको छ ।
मिचाहा प्रजातिको असर
मिचाहा वनस्पतिले कतिसम्म क्षति पु¥याउन सक्छन् भन्ने सम्बन्धमा यहाँका स्थानिय राम्रैसँग जानकार छन् । अत्यन्त छिटो बढ्ने यो प्रजातिको वनस्पतिले रैथाने बोटबिरुवालाई हुर्किन दिँदैन । आफ्नो क्षेत्रमा सँधै खानेगरेको वनस्पति नपाएपछि बदेँल, घोरल, रतुवा, खरायो लगाएतका जनावर आहारा खोज्दै किसानका खेतबारीसम्म पुग्छन् जसका कारण स्थानीय समुदायसँग उनीहरूको द्वन्द्व हुनपुग्छ ।
अतिक्रमणकारी वनस्पतिका कारण तराई हुदैँ पहाडी क्षेत्रहरूमा गम्भीर प्रभाव परिसकेको पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाका जिल्ला संयोजक डा. दिगम्बर सिंह दाहालले बताउनुभयो । ‘तराई क्षेत्रबाट प्रवेश गरेको मिचाहा प्रजाति पहाड हुदैँ हिमाल सम्म नै पुग्न थालेको छ, त्यहाँको परिस्थिति नियन्त्रण गर्ने उपायहरूलाई प्राथमिकीकरण गर्न एउटा विस्तृत तथा बृहत् अध्ययनकै आवश्यक पर्छ’ उहाँले भन्नुभयो ।
मिचाहा प्रजातिका वनस्पतिका असरहरू बहुआयामिक (जैविक, पर्यावरणीय, आर्थिक एवं मानव स्वास्थ्य) हुन्छन् । मिचाहा प्रजातिहरु छिटो बढ्ने र धेरै खालका वासस्थानहरुमा बाँच्न सक्ने क्षमताका हुन्छन् । यिनीहरू अत्यधिक धेरै बीउ उत्पादन गर्न सक्ने र जरा एवं काण्डबाट समेत नयाँ बिरुवा उत्पादन गर्न सक्ने हुनाले नयाँ ठाउँमा छिटो अतिक्रमण गर्न सक्छन् । यस्ता प्रजातिहरू ठूलो क्षेत्रमा फैलिएर स्थानीय÷रैथाने प्रजातिहरूलाई विस्थापित गरी स्थानीय पारिस्थितिकीय प्रणालीमा नै सोझै असर पार्दछन् ।
मिचाहा प्रजातिले रैथाने प्रजातिलाई लोप बनाएको र अस्तित्व नै सङ्कटमा पारिदिएको धेरै उदाहरणहरू छन् । नेपालमा मिचाहा प्रजातिले जैविक विविधता र पारिस्थितीकीय प्रणालिमा असर पारेको छ । उदाहरणका लागि वनमारालाई लिन सकिन्छ । यसले जमिनलाई नै छपक्क ढाक्ने हुनाले स–साना बिरुवाहरू उम्रिन र बढ्न सक्दैनन् ।
यस्तै कृषि क्षेत्रमा नयाँ मिचाहा प्रजातिको आगमनले ठूलो आर्थिक बोझ थपिदिएको छ । मिचाहा प्रजातिले गर्दा वनमा पाइने घाँस र गैहकाष्ठ वन पैदावार घटेको कुरा स्थानीयले अनुभव गरेका छन । मिचाहा प्रजातिले गर्दा वनको पुनरुत्पादन घटेको एवं झाडी फडानी गर्न ठूलो मिहिनेत गर्नु परेको बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका राजकुमार खत्री बताउनुहुन्छ ।
ईविएको सहयोगमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा वनमारा र बनफाँडा लगाएतका मिचाहा प्रजाती हटाउनका लागि अथक प्रयास गरिएको छ । यसै गरी मिचाहा प्रजातिको कारणले वनजंगलमा डढेलोको प्रकोप पनि बढ्न सक्ने आँकलन स्थानियको छ ।
मिचाहा प्रजाती नियन्त्रण र व्यवस्थापन
वनमा मिचाहा प्रजातिको समस्या वन क्षेत्र विशेष गरी खोला तटिय वन, सडक छेउ छाउका वन क्षेत्र मिचाहा प्रजातिको उच्च जोखिमका क्षेत्रहरू हुन् । त्यसैगरी क्षयीकरण भएको र जनघनत्व कम भएको वनमा पनि मिचाहा वनस्पतिहरू फैलिने जोखिम उच्च हुन्छ । यहाँको हावापानी र भौगोलिक अवस्थिति अनुसार विभिन्न खालका मिचाहा प्रजातिहरूले अतिक्रमण गरेका छन् । मिचाहा प्रजातिहरूको असर यहाँका अन्नबालीमा समेत पाइएको छ । वनमाराजस्ता प्रजाति केहीवर्ष अघिसम्म फाटफुट मात्रामा पाइने भएपनि हाल जिल्लाभर फैलिएको छ ।
मिचाहा प्रजाती विस्थापित गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक टोप बहादुर खत्रीले बताउनुभयो । ‘सुरूको अवस्थामा नियन्त्रण गर्न सके मात्र कम हुन्छ, नत्र पछि जति खर्च गरेपनि यसलाई नियन्त्रण गर्न सकिन्न, वनमारा त नियन्त्रण गर्नसक्ने अवस्थामा पनि छैन्’ उहाँले भन्नुभयो । यस्ता पराई मिचाहा प्रजातिसँग जुध्न जैविक अध्ययनसँगै सर्वसाधारणमा यसको पहिचान गर्न र यताउती लैजानबाट रोक्न सचेतना जगाउन समेत आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले मिचाहा प्रजातिहरू जैविक विविधतालाई हानिकारक भएपनि कुनै–कुनै प्रजातिहरूलाई उपयोगमा पनि ल्याउन सकिने बताउनुभयो । ‘उदाहरणको लागि वनमारालाई कम्पोष्ट बनाइ कृषि उत्पादन बढाउन सकिन्छ, यी प्रजातिहरूलाई गोठमा सोत्तरको रुपमा र करेसा बारीमा बार बार्न समेत प्रयोग गर्न सकिन्छ, बनफाँडालाई दाउराको रुपमा पनि प्रयोग गर्न सकिन्छ’ फेरी उहाँले थप्नुभयो ‘यहाँ ध्यान दिनुपर्ने महत्वपुर्ण कुरा के छ भने मिचाहा प्रजातिको उपयोग तिनीहरूको नियन्त्रण मात्रै होइन् विस्थापन गर्ने उद्देश्य राखेर गर्नुपर्छ ।’