खड्गदेवीको शैक्षिक उन्नयन कोषमा दुई लाख दश हजार प्रदान

यस क्षेत्रकै पुरानो बिद्यालय विविध कारणले बन्दजस्तै भएको अवस्थामा अहिले पुर्नजन्म पाएको भन्दै उहाँले बिद्यालयको भौतिक संरचनामा सुधार गर्न र शैक्षिक गुणस्तर बृद्धि गर्दै योग्य, कर्मठ, सिर्जनशिल र अनुशासित बिद्यार्थी उत्पादनमा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।


सल्यान, ७ भदौँ ।
सल्यानको शारदा नगरपालिका–३ पौवाबारीमा रहेको खड्गदेवी आधारभूत बिद्यालयको शैक्षिक उन्नयन कोषमा दुई लाख दश हजार रुपैँया प्रदान गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुगोस् भन्ने हेतुका साथ सल्यान–काठमाण्डौँ उपत्यका नेवाः समाजको तर्फबाट शुक्रवार बिद्यालयलाई चेक हस्तान्तरण गरिएको हो । डा. राम श्रेष्ठ, शैलेन्द्र शाक्य, सविन्द्र श्रेष्ठ र सविता श्रेष्ठले उपलब्ध गराउनुभएको सहयोग रकम नेवाः समाज मार्फत हस्तान्तरण गरिएको अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिद्यालयका निमित्त प्रधानाध्यापक डम्बरी प्रधानलाई चेक हस्तान्तरण गर्दै श्रेष्ठले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न बालबालिकाकै क्षेत्रमा यसरकम प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रकै पुरानो बिद्यालय विविध कारणले बन्दजस्तै भएको अवस्थामा अहिले पुर्नजन्म पाएको भन्दै उहाँले बिद्यालयको भौतिक संरचनामा सुधार गर्न र शैक्षिक गुणस्तर बृद्धि गर्दै योग्य, कर्मठ, सिर्जनशिल र अनुशासित बिद्यार्थी उत्पादनमा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै शारदा नगरपालिका–३ का वडाअध्यक्ष तुलसा भण्डारीले सामुदायिक बिद्यालयको बृद्धि विकास र गुणस्तर सुधारमा आफुहरुले निरन्तर काम गर्दै आएको बताउनुभएको छ । कुनै समयमा ४/५ जना बिद्यार्थी भएर बन्द हुनै लागेको बिद्यालयलाई पुनःसञ्चालन गरिएको उहाँको भनाइ छ । यस बिद्यालयको लागि वडा कार्यालयले प्रत्येक बर्ष वजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।

शैक्षिक अभियान्ता मौसमदास श्रेष्ठले लगातार २ बर्ष शून्य बिद्यार्थीमा सञ्चालन भएको बिद्यालयलाई अहिलेको अवस्थामा ल्याउनु आफैमा चुनौतीको बिषय बनेको बताउनुभयो । सबै निकायको साथ र सहयोगबाट मात्रै यस बिद्यालयमा अहिले बालविकास देखी कक्षा ५ सम्ममा ८० जना बालबालिकाले पढ्दै आएको उहाँको भनाइ छ । उहाँले अहिले पनि बिद्यालयको भौतिक संरचना र गुणस्तर सुधारमा विभिन्न निकायबाट सहयोग प्राप्त हुदैँ आएको बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य दिपा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण हरिहर महर्जनले गर्नुभएको थियो । कार्यक्रममा नेवाः समाजका सदस्य अनिल श्रेष्ठ, राम श्रेष्ठ, स्थानिय बुद्धिजिवि खिमेन्द्र शाक्य, बाबुमान श्रेष्ठ, अभिभावक, शिक्षक, बिद्यार्थी सबैको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस