अझै पुगेन विजुलीमा पहुँच : अध्यारोमै बस्छन् सल्यानका २२ हजार परिवार

शारदा नगरपालिका वडा नम्बर ३ र ४ पुर्णरुपमा बिद्युतिकरण भैसकेको छ भने बन्गाड कुपिण्डे नगरपालिका–१२ मा रहेका ३९६ घरधुरीमध्ये अहिलेसम्म २ घरमा र कालिमाटी गाउँपालिका–७ मा रहेका ५६३ घरधुरीमध्ये अहिलेसम्म ४ घरमा मात्रै विजुली बलेको छ ।

सल्यान ।

सल्यानका २२ हजार परिवार अझै अध्यारोमा बस्न बाध्य भएका छन् । जिल्लामा बिद्युतिकरणका लागि बर्षेनी करोडौँ रुपैँया खर्च भैरहेको भएपनि जिल्लाका २१ हजार ८ सय ४ परिवार अध्यारोमा बस्न बाध्य भएका हुन् । विजुली नपुगेका कारण ती परिवारले सोलार, टुकी, मट्टीतेल, गोबरग्यास र झर्कोको प्रयोग गर्दै आएका छन् । ग्रामिण भेगमा रहेका ती बस्तीमा बिद्युतिकरण गर्न ढिलाई हुदा नागरिकले उज्यालो देख्न पाएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै विजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका सबै ५४ हजार ६ सय ७२ घरधुरी मध्ये ३२ हजार ८ सय ६८ घरधुरी मात्रै विजुली बलेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा २४ हजार ७ सय ७५ घरधुरीमा मात्रै विजुली पुगेको देखाउँछ ।

जिल्लाभरमा पुर्ण बिद्युतिकरणका कार्यक्रम सञ्चालन भैरहेकाले करिब ६० प्रतिशत घरधुरीमा विजुली पुगेको वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै शारदा नगरपालिकामा ९७ दशमलव ५५ प्रतिशत र सबैभन्दा कम कालिमाटी गाउँपालिकामा ४४ दशमव ७० प्रतिशत बिद्युतिकरण गरिएको छ ।

केन्द्रका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा ४ हजार २६४ घरधुरी रहेकोमा १ हजार १५० घरमा विजुली पुगेको छ भने ३ हजार ११४ घरमा अझै विजुली बल्न बाँकी छ । कुमाख गाउँपालिकामा ५ हजार ४९१ परिवार मध्ये २ हजार २ घरमा विजुली पुगेको छ भने ३ हजार ४८९ परिवारमा बल्न बाँकी छन् । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा ७ हजार ४२८ घरधुरीमध्ये २ हजार ५५१ घरमा विजुली पुगेको छ भने ४ हजार ८७७ घरमा अझै विजुली पुगेको छैन् ।

यस्तै सिद्ध कुमाख गाउँपालिकामा २ हजार ८९८ घरधुरी मध्ये १ हजार ६४१ घरमा विजुली पुगेको छ भने १ हजार २५७ घरमा विजुली पुग्न बाँकी छ । यस्तै बागचौर नगरपालिकामा ७ हजार ४९८ घरधुरी मध्ये ४ हजार ६८३ घरमा विजुली पुगेको छ भने २ हजार ८०५ घरमा विजुली पुगको छैन् । छत्रेश्वरी गाउँपालिकामा ५ हजार १३९ घरधुरीमध्ये ७ सय २८ घरमा विजुली पुग्न बाँकी छ भने ४ हजार ४११ घरमा विजुली बलिसकेको छ ।

यस्तै शारदा नगरपालिकामा ८ हजार ८९८ घरधुरी मध्ये ८ हजार ३८७ घरमा विजुली बलिसकेको छ भने ५११ घरमा विजुली बल्न बाँकी छ । यस्तै कालिमाटी गाउँपालिकामा ४ हजार ९७२ घरमध्ये १ हजार ६०९ मा विजुली बलेको छ भने ३ हजार ३६३ घरमा विजुली बल्न बाँकी छ । यस्तै त्रिबेणी गाउँपालिकामा ४ हजार ११० घरधुरीमध्ये ३ हजार ३९४ घरमा विजुली बलेको छ भने ७१६ घरमा विजुली बल्न बाँकी छ ।

यस्तै कपुरकोट गाउँपालिकामा ३ हजार ९७४ घरधुरी मध्ये ३ हजार ३९ घरमा विजुली बलिसकेको छ भने अझै ९ सय ३५ घरमा विजुली बल्न बाँकी रहेको नेपाल बिद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रले जनाएको छ । कार्यालयका अनुसार शारदा नगरपालिका वडा नम्बर ३ र ४ पुर्णरुपमा बिद्युतिकरण भैसकेको छ भने बन्गाड कुपिण्डे नगरपालिका–१२ मा रहेका ३९६ घरधुरीमध्ये अहिलेसम्म २ घरमा र कालिमाटी गाउँपालिका–७ मा रहेका ५६३ घरधुरीमध्ये अहिलेसम्म ४ घरमा मात्रै विजुली बलेको छ ।

पुर्ण बिद्युतिकरण गर्न साढेँ ६४ करोड रुपैँया अपुग

जिल्लामा अहिले पुर्ण बिद्युतिकरणका लागि भन्दै विभिन्न ठेक्का सम्झौताका काम भैरहेका छन् । जिल्लाका सबै पालिकामा २०८२ असार मसान्तसम्म बिद्युतिकरण गर्ने भनेर आधा दर्जन ठेक्का लागेका छन् । तर त्यतिले मात्रै सबै घरपरिवार विजुलीको पहुँचमा नपुग्ने केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पुर्ण बिद्युतिकरणका लागि अहिले चलिरहेका ठेक्का बाहेक ६४ करोड ४३ लाख रुपैँया अपुग देखिएको छ ।

यसका लागि ११ केभि लाईन लम्बाई १२९ किमि, २३०/४०० भोल्ट लाईन ४१७ किमि र ६६ थान ट्रान्सफर्मरको आवश्यकता पर्ने उहाँको भनाइ छ । दाङ–सल्यान लाईनको लम्बाई धेरै हुदा बिद्युत चुहावट १३ प्रतिशत रहेको, गएको बर्षमा जिल्लाभर २४७ वटा काठको पोल बदली भएको, बिद्युत महसुल नतिर्ने २८ ग्राहक कालोपाटीमा रहेको उहाँले जानकारी दिनुभयो ।

टाढाको बस्तीमा सौर्यऊर्जा

जिल्लामा राष्ट्रिय प्रशारण लाईन नै जोड्ने गरेर बिद्युतिकरणका काम भैरहेका छन् । तर निकै टाढाको र २÷४ घरधुरीको मात्रै बसोबास भएको बस्तीमा वैकल्पिक रुपमा सौर्यऊर्जाको तयारी समेत गरिएको छ । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले २ बर्ष भित्रमा पालिकालाई पुर्ण बिद्युतिकरण गर्न गरि दुई चरणमा काम भैरहेको बताउनुभयो । बिद्युत प्राधिकरण र पालिकाको साझेदारीमा एउटा र अर्को बिद्युत प्राविधिकरणले छुट्टै बिद्युतिकरणका काम गरिरहेको उहाँको भनाइ छ ।

‘बिद्युतको ५ करोड र पालिकाको २ करोड गरेर ७ करोड रुपैँयाको साझेदारीमा काम भैरहेको छ, यस्तै बिद्युत प्राधिकरणले छुट्टै पनि बिद्युतिकरणका काम गरिरहेको छ, हाम्रो पालिकामा ८० प्रतिशत बढी घरमा बत्ती बलेको छ, बाँकी घरमा तत्कालै बल्छ’ उहाँले भन्नुभयो ‘लागत धेरै लाग्ने, निकै टाढाका बस्ती, त्यसमा पनि २/४ घरमात्रै भएको ठाउँमा सौर्यऊर्जा जडान गरेर उज्यालोको पहुँचमा ल्याउने योजना छ, त्यही अनुसारको तयारीमा छौँ ।’

सास्ती भोग्दै नागरिक

जिल्लामा पुर्ण बिद्युतिकरण भै नसक्दा नागरिकले हैरानी खेप्नु परेको छ । कतै बिद्युतको लाईन नै विस्तार भएको छैन् भने लाइन विस्तार भएको ठाउँमा पनि बर्षौसम्म बत्ती वलेको छैन् । अहिलेपनि स्थानीयहरु रातिको समयमा बत्तीको लागि सौर्य टुकी, मट्टितेलबाट बाल्ने लाल्टिन, टुकी र झर्कोको भरमा छन् । कालिमाटी गाउँपालिका–७ घुइयाबारीका बिद्यार्थी यामकली बस्नेतले भन्नुभयो ‘पोल र तार तानिएको छ, तर विद्युत् जोडिएको छैन्, बत्ती नहुँदा घरमा पनि अबेरसम्म पढ्न पाइदैन्, विद्यालयमा कम्प्युटर विषय छ, तर बत्ती नहुँदा कम्प्युटर चल्दैन्, अभ्यास नहुँदा किताबको ज्ञानले मात्रै सिक्न नसकिदो रहेछ ।’

रातिको समयमा कोही बिरामी भएमा समस्या हुने गरेको र शौचालय गर्नका लागि बाहिर निस्कन धेरै गाह्रो हुने स्थानिय कर्णबहादुर घर्तीले बताउनुभयो । बत्ती नहुँदा कुटानी पिसानी गर्ने मिल सञ्चालनमा पनि समस्या भएको छ । यस्तै इलेक्ट्रिक पसल, वर्कसप, ग्रिल लगाएतका व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानिय बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस