सल्यान, २७ भदौँ ।
सल्यानमा पहिलो पटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । भदौँ यता मात्रै ९ जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन् । केही महिनायता मात्रै किट ल्याएर परिक्षण सुरु गरिएको थियो ।
जसमा आठ जना महिला र एक जना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकाका चार जना, बागचौर नगरपालिकाका तीन जना तथा छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये चार जना १३ बर्षमुनीका बालबालिका रहेको उहाँको भनाइ छ ।
ती बिरामीमा ज्वरो आउने, पसिना आउने लगाएतका लक्षण देखिएको अस्पतालले जनाएको छ । मुख्यतः मुसाले टोकेपछि यो रोगले आक्रमण गर्ने गर्छ । मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढा मगरको भनाइ छ ।
‘झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ, कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्यकर्मीको निगरानीमा पुगिहाल्नुपर्छ’ उहाँले भन्नुभयो ‘डेंगी, टाइफाइटको लक्षणसँग यसको लक्षण मिल्ने भएकाले परिक्षण बिना पत्ता लगाउन गाह्रो पर्छ, संक्रमितले तत्काल उपचार सुरु गर्नुपर्छ, नत्र ज्यानै जोखिम पर्नसक्छ ।’
डा. बुढा मगरले सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गनुपर्ने अवस्था निम्तिने बताउनुभयो । उहाँले औषधि पाँचदेखि दश दिन प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुने बताउनुभयो । यसका साथै संक्रमितले प्रोटिनयुक्त खाना र प्रशस्त झोल पदार्थ खानुपर्ने उहाँको सुझाव छ । चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ ।
स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् । ‘यसको जोखिम भनेकै छिट्टै अन्य अंगमा पनि संक्रमण गराउँछ’ उहाँले भन्नुभयो ।
कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ । कार्यालयका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउन जिल्ला अस्पतालले सुझाव दिएको छ ।