सल्यान-रुकुम जोड्ने मर्मखोलामै छैन् पुल : नागरिकलाई सास्ती

‘कुमाख लेक सम्मको पानी मर्मखोला भएर बग्ने हो, बर्खामा खोला वारपार हुन्छ, वारीका सवारीसाधन खोला वारी हुन्छ, पारीका पारीतिरै हुन्छन्, उर्लदो खोला तर्न मान्छेलाई त हम्मेहम्मे हुन्छ भने गाडी वारपार गर्ने कुरै भएन्’ उहाँले भन्नुभयो ‘यसक्षेत्रको मुख्य सडक यही हो, सडक कालोपत्रे भैसकेको छ, तर खोलामा पुल छैन्, नागरिकले सास्ती भोग्नुपरेको छ ।’

सल्यान, ३१ भदौँ ।

पर्यटन प्रर्वद्धनका लागि लुम्बिनीलाई रारा तालसँग जोड्ने मार्गका रुपमा लिईएको लुम्बिनी–रारा सडकको सल्यान खण्डमा पुल निर्माण हुन सकेको छैन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ को सिमानामा पर्ने स्यानीपिप्ली बजारको मर्मखोलामा पुल निर्माण हुन नसकेको हो । पुल निर्माणका लागि आवश्यक प्रक्रिया नै सुरुवात नगर्दा त्यसको मार नागरिकले खेपेका छन् ।

लुम्बिनी घुम्न आएका पर्यटकलाई दाङ सल्यान हुदैँ डोल्पा र रारा तालसम्म लैजाने रणनितिक मार्गका रुपमा लिइएको थियो । यसका साथै नेपालगन्जबाट जिल्लाको पश्चिमी क्षेत्र सल्लीवजार नेटाबजार हुदैँ रुकुम पश्चिमको चौरजहारी जाने तथा थारमारे रोगेचौर हुदैँ चौरजहारीबाट डोल्पा पुग्ने मुख्य सडकमा पर्ने मर्मखोलामा पुल निर्माण अझै हुन सकेको छैन् । निर्वाचनका बेला मर्मखोलाको स्यानीपिप्लीमा मोटरेवल पुल निर्माण गर्ने चर्चा हुन्छ । तर निर्वाचन सकिएपछि पुल निर्माणमा भने कसैले चासो नदिएको स्थानियको गुणासो छ ।

स्थानिय खिम बहादुर सुनारका अनुसार स्यानिपिप्ली यस क्षेत्रको पुरानो बजार हो । यही बजार भएर सल्यान–रुकुम पश्चिम आउजाउ हुन्छ । तर यसक्षेत्रकै ठुलो मर्मखोलामा मोटरेवल पुल नहुदा नागरिकले सास्ती पाउने गरेको उहाँको भनाइ छ । गर्मी समयमा खोलामा पानीको मात्रा कम हुदा यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई केही सहज हुने भएपनि बर्खामा भने निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

‘कुमाख लेक सम्मको पानी मर्मखोला भएर बग्ने हो, बर्खामा खोला वारपार हुन्छ, वारीका सवारीसाधन खोला वारी हुन्छ, पारीका पारीतिरै हुन्छन्, उर्लदो खोला तर्न मान्छेलाई त हम्मेहम्मे हुन्छ भने गाडी वारपार गर्ने कुरै भएन्’ उहाँले भन्नुभयो ‘यसक्षेत्रको मुख्य सडक यही हो, सडक कालोपत्रे भैसकेको छ, तर खोलामा पुल छैन्, नागरिकले सास्ती भोग्नुपरेको छ ।’

अर्का स्थानिय खड्ग आचार्यले मर्मखोलामा पुल निर्माणका लागि पहल गरिएपनि सुनुवाई नभएको बताउनुभयो । ‘यहाँ पुलको नितान्त आवश्यकता छ, हामीले पटक–पटक आवाज उठाउदैँ आएका छौँ, स्थानिय सरकार, प्रदेश सरकार देखी केन्द्र सरकारसँग माग गरेकै छौँ, सबै सरकारले आश्वासन दिन्छन्, तर काम कसैले गर्दैनन्’ उहाँले भन्नुभयो ‘ग्रामिण भेगमा समेत पक्की पुल बन्ने क्रम चलिरहेको अवस्थामा मुख्य सडकमा पुल नहुनु दुःखद पक्ष हो ।’

उहाँले कुमाख गाउँपालिका वडा नम्बर १, २, ३, ५ र ६ का गर्भवति तथा अन्य जटिल विरामीको उपचारका लागि चौरजहारी लैजादा गाडी चल्न समस्या हुनेभएपछि बोकेरै खोला पार गर्नुपर्ने तथा चौरजहारी अस्पतालले रिफर गरेको बिरामीलाइ नेपालगन्जसम्म लिनुपर्दा भेरी तरेर जाजरकोटको सडक भएर लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । यस्तै पुल कै अभावमा स्थानियलाई किनमेलका लागि बजार आउन सास्ती खेप्नु परेको, गाउँमै उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु बिक्री वितरणमा समस्या भएको बताउनुभयो ।

‘बर्खामा खोला तर्न नसकेर कयौँ पटक सवारी साधन रोकिनु परेको छ, मान्छेलाई समेत खोला तर्दा बगाएका घटना थुप्रै छन्’ उहाँले भन्नुभयो । कालोपत्रे गरिएको सडक उप्किन थालिसकेको भएपनि खोलामा अझै पुल बन्ने सुरसार नभएको उहाँको गुणासो छ । ‘सडक कालोपत्रे भयो भनेर खुसी त भयौँ तर खोलामा पुल छैन्, सायद पुल बन्दा सम्म कालोपत्रे सडक जीर्ण बनिसक्छ होला’ आचार्यले गुणासो गर्दै भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित