सल्यान, ३१ भदौँ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा पालिका स्तरीय बालिका तथा समाबेशी शिक्षा सञ्जाल गठन गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोता विकास केन्द्रको बालिका तथा समाबेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन मापदण्ड २०८० अनुरुप स्ट्रीट चाइल्ड अफ नेपालको सहयोगमा आसमान नेपालद्धारा छत्रेश्वरी गाउँपालिकामा सञ्चालित बिल्ड द बेसिक परियोजनाको प्राबिधिक सहयोग र सहजिकरणमा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको संयोजकत्वमा २४ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
सञ्जाल गठन संगै मापदण्ड तथा व्यवस्थाहरुका बारेमा अभिमुखिकरण गरिएको छ । सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष एवंम सञ्जालकी संयोजक खत्रीले पालिकामा समाबेशी शिक्षा प्रर्बद्धनका लागि सञ्जालले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । बालिका, अपाङ्गता भएका एवम सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा समन्यायिक पहुँच तथा सहभागिता, सिकाइ उपलब्धि सुनिश्चित गर्नका लागि सञ्जाललाई सोही अनुरुप परिचालन गर्ने उहाँको भनाइ थियो ।
सञ्जालमा प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका शाखाका प्रमुख एवं प्रतिनिधि, वडा अध्यक्ष, बाल क्लवका प्रतिनिधि, शिक्षक, प्रधानाध्यापक, स्रोत शिक्षक, प्रहरी बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पत्रकार, शिक्षक अभिभावक संघका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । समाबेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन मापदण्ड २०८० अनुसार बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत बालबालिकाको शिक्षाको सुनिश्चितितामा पहुँच, सहभागिता र सिकाइ उपलब्धिमा सुधारका लागि योजना तर्जुमा तथा कार्यान्वयन सहजीकरणका लागि पालिका स्तरीय बालिका एवं समाबेशी शिक्षा सञ्जाल गठनको प्राबधान रहेको छ ।
प्रावधान अनुसार पालिका स्तरिय सञ्जालले विद्यालयबाहिर रहेका बालबालिका विशेष गरी बालिका, अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका बालबालिकाको पहिचान गरी शिक्षाको पहुँच सुनिश्चिताका लागि पहल गर्ने, गुणस्तरीय अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने गराउने, विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा पहुँच, निरन्तरता, सहभागिता र सिकाइ सुनिश्चित गर्न सहजीकरण गर्ने, विद्यालयमा उपयुक्त सिकाइ वातावरण तयार गर्न सहजीकरण गर्ने लगायतका कार्य गर्दछ ।
त्यसैगरी विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता र सिकाइ उपलब्धि अभिवृद्धिमा आवश्यक समन्वय, सहकार्य एवम् सहजीकरण गर्ने, शिक्षामा समता र समानताको प्रवर्धन गर्दै मानवीय गरिमाको रक्षाका लागि पहल गर्ने, बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको समावेशिता, वैयक्तिक सिकाइ आवश्यकता र विविधताको सम्मानको लागि सरोकारवालालाई अभिप्रेरित गर्ने लगायतका कार्यहरु सञ्जालले गर्दछ ।