सल्यान, १ असोज ।
सल्यानको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम रोकिएको छ । बहुबर्षिय आयोजना अन्र्तगत गत आर्थिक बर्षमा विनियोजन भएको वजेटको काम सकिएको र चालु आर्थिक बर्षमा विनियोजन भएको वजेट कार्यान्वयनमा नआएकाले तत्काललाई पुनर्निर्माणको काम रोकिएको हो । जिल्लाको शारदा नगरपालिका–११ मा अवस्थित ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटन क्षेत्रको हवको रुपमा रहेको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई प्यागोडा शैली नेपाली छानामा पुनर्निर्माणको काम अघिल्लो बर्ष देखी थालिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगत पुरातत्व विभागको सहयोगमा करिब चार दशकअघि पुनर्निर्माण गरिएको यस मन्दिरको पुनर्निमाण गर्न सुरु गरिएको हो । जस अनुसार मन्दिरको गाह्रा लगाउने, झ्याल ढोका राख्ने काम सकिएको छ । तर मन्दिरको छाना राख्ने र रंगरोगणको काम भने अझै बाँकी रहेको खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतमा मन्दिर निर्माणमा छड र सिमेन्ट प्रयोग गरिएको थियो । झ्याल ढोका साना थिए । मन्दिरको आकार सानो थियो । मन्दिरका चारैतिरका खम्बा छड सिमेन्टकै थिए । तर अहिले भने ढुंगामाटो र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माणको काम गरिएको उहाँको भनाइ छ । ‘मन्दिर पुनर्निर्माणमा छड सिमेन्ट प्रयोग गरिएको छैन्, ढुंगामाटो र काठको प्रयोग मात्रै भएको छ’ उहाँले भन्नुभयो ।
बहुबर्षिय आयोजना मार्फत मन्दिर पुनर्निर्माणको काम भैरहेकाले केही ढिलाइँ भएको उहाँले बताउनुभयो । ‘मन्दिरमा पुजाआजाका लागि आजभोली पनि भक्तजन आइरहनु भएको छ, तर मन्दिर पुनर्निर्माण सकिएको छैन्, छाना राख्न र रंगरोगण गर्नै बाँकी छ, बाँस ठड्याइएको छ, त्रिपालले मन्दिर ढाकिएको छ’ उहाँले भन्नुभयो ‘पुरातत्व विभागसँग समन्वय गरिरहेका छौँ, सायद बाँकी काम अव छिट्टै सुरु होला ।’
यस मन्दिरको पुनर्निर्माणका लागि एक करोड ५२ लाखको लागत अनुमान गरिएको थियो । त्यसमध्ये अघिल्लो बर्ष झण्डै ८० लाख रुपैयाँ प्राप्त भयो । मन्दिरको बाँकी काम सम्पन्न गर्न अझै ५० लाख रुपैँया बढी लाग्ने आँकलन छ । पुरातत्व विभागले आवश्यकता अनुसारको वजेटको व्यवस्था गरे यसबर्ष मन्दिर पुनर्निर्माणको काम सबै सकिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
बडादशैँमा निर्माणाधिन मन्दिरमै पुजा
यस बर्षको बडादशैँ आउन करिब तीन साता बाँकी छ । तर खैराबाङ भुवनेश्वरी मन्दिरको पुनर्निर्माणको काम भने सकिने छाँटकाँट छैन् । यस्तो अवस्थामा निर्माणाधिन मन्दिरबाटै पुजाआजाको व्यवस्था मिलाईने भएको छ । यस मन्दिरमा विशेष गरेर आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षसँगै अरु समयमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
खैराबाङ भगवती मन्दिरमा वर्षेनि करिब दुई लाख भक्तजनले दर्शन गर्दछन् । धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न दाङ, रुकुम, रोल्पा, प्युठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् ।
स्थानीय दीपेन्द्र बुढाथोकीले यस मन्दिरमा पूजाआजा गर्दा मनले चित्ताएको मनोकांक्षा पूरा हुने विश्वास लिएर पूजाआजा गर्न आउनेको संख्या धेरै भएको बताउनुभयो । ‘धार्मिक शास्त्रअनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठमध्येको एक पवित्र मन्दिरका रुपमा चिनिन्छ’– उहाँले भन्नुभयो– ‘दर्शन गर्न र पूजाआजा गर्नकै लागि देश तथा विदेशबाट समेत भक्तजन आउनुहुन्छ ।’
१४८० देखि पूजाआजा
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा बाह्रै महिना पुजाआजा हुने भएपनि चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनको घुइँचो लाग्छ ।
खैराबाङ भुवनेश्वरीले मनले चित्ताएको मनोकांक्षा पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने मन्दिर वरिपरि चण्डीपाठ गरिन्छ । वि.स. १४८० देखि यहाँ पूजाआजा शुरु गरेको किम्बदन्तीमा उल्लेख छ । वि.सं. १८०० को भाद्रमा ढुंगाको छानो हालेको मन्दिर निर्माण गरिएको उल्लेख छ । पछि २०४० सालमा राजा वीरेन्द्रको मध्यपश्चिम भ्रमणको क्रममा खैरावाङ भगवतीको दर्शन गर्दा मन्दिर बनाउनु भनी निर्देशन दिएपछि पुनर्निर्माण गरिएको थियो ।