सल्यानमा डेंगी र स्क्रव टाइफसको संक्रमण फैलिदैँ

डेंगी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस लाग्ने गर्छ ।

 

सल्यान, ४ असोज ।

सल्यानमा डेंगी र स्क्रब टाइफसका गरेर २७ संक्रमित भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका मंगलबार सम्मको तथ्यांक अनुसार जिल्लामा डेंगीका ६ जना र स्क्रब टाइफसका २१ जना संक्रमित भेटिएका हुन् । संक्रमित मध्ये केही सन्चो भैसकेका छन् भने केही उपचारकै क्रममा रहेका छन् । जिल्ला अस्पताल सल्यानमा उपचार गर्न आएकाको रगत परीक्षण गर्दा ६ जनामा डेंगी र २१ जनामा स्क्रब टाइफस भेटिएको हो । डेंगी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस लाग्ने गर्छ ।

डेंगी देखिएकोमा चार जना महिला र दुई जना पुरुष रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले शारदा नगरपालिकाका पाँच र बागचौर नगरपालिकाका एक जनामा डेंगी देखिएको बताउनुभयो । डेंगी देखिएका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भएको र केही ठिक भएर घर फर्किसकेका उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समयमा देशभरी डेंगीको संक्रमण बढिरहेको बेला जिल्लाभरी ज्वरो आउने, टाउको दुख्ने बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएकालाई रगत परीक्षण गर्दा डेंगी देखिएको हो । अस्पतालमा उपचार गर्न आएका र लक्षण मिल्दोजुल्दो भएका अन्यको पनि रगत परीक्षण भइरहेको डा. बुढामगरको भनाइ छ ।

उहाँले जिल्लामा ज्वरोको बिरामी बढ्दै गएकाले अन्यमा पनि डेंगी हुनसक्ने बताउनुभयो । ‘डेंगी रोगका कारण समयमै उपचार नपाए ज्यानै जानसक्ने भएकाले उच्च ज्वरो आएमा, टाउको दुःखेमा, शरीर कटकटी खाएमा तत्काल अस्पताल आएर डाक्टरको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्छ’ उहाँले भन्नुभयो ‘डेंगी लामखुट्टेको टोकाइबाट हुने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि राति सुत्ने बेला झुल लगाएर तथा लामखुट्टे धपाउने धुप बालेर सुत्न जिल्लाबासीलाई सल्लाह दिन्छु ।’

सल्यानमा डेंगीको बिरामी भेटिए पनि अहिलेसम्म जटिल समस्या भने कसैलाई नदेखिएको र कसैको ज्यान समेत नगएको उहाँको भनाइ छ । दैनिक एक सय भन्दा बढी बिरामी आउने अस्पतालमा ज्वरोका बिरामी र डेंगीको लक्षणसँग मिल्दोजुल्दो बिरामी धेरै आउने गरेपनि रगत परीक्षण गर्दा सबैमा भने रोग नदेखिएको अस्पतालले जनाएको छ ।

यस्तै जिल्लामा दुई जना पुरुष र १९ जना महिलामा स्क्रब टाइफस भेटिएको छ । भदौँयता मात्रै जिल्लाको शारदा नगरपालिकाका १० जना, बागचौर नगरपालिकाका ४ जना, छत्रेश्वरी गाउँपालिकाका ४ जना, दार्मा गाउँपालिकाका १ जना, सिद्ध कुमाख गाउँपालिकाका १ जना र बन्गाड कुपिण्डे नगरपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो ।

‘झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ, कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्यकर्मीको निगरानीमा पुगिहाल्नुपर्छ’ डा. बुढामगरले भन्नुभयो ‘डेंगी, टाइफाइटको लक्षणसँग यसको लक्षण मिल्ने भएकाले परिक्षण बिना पत्ता लगाउन गाह्रो पर्छ, संक्रमितले तत्काल उपचार सुरु गर्नुपर्छ, नत्र ज्यानै जोखिम पर्नसक्छ ।’ कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस