सल्यान, ८ असोज ।
सल्यानमा रेडियो कार्यक्रम उत्पादन सम्बन्धी क्षमता अभिवृद्धी तालिम सुरु भएको छ । सदरमुकाम खलंगामा सोमबारदेखि सुरु भएको दुई दिने तालिम उद्घाटन कार्यक्रमका सहभागी वक्ताहरुले जिम्मेवार तरिकाले रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्ने धारणा राखेका छन् । सामुदायीक रेडियो राप्ती एफएमले जिल्लाका अन्य रेडियोमा कार्यरत रेडियोकर्मी तथा रेडियोप्रेमीहरुका लागि आयोजना गरेको तालिममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले पत्रकारिता संवेदनशील विषय भएको उल्लेख गर्नुभयो ।
पत्रकारिता तथा रेडियो कार्यक्रममा समाजलाई कता लैजाने भन्ने सामथ्र्य हुने भएकाले सत्य र वास्तविक कुरा उजागर गर्नुपर्नेमा उहाँको जोड थियो । स्थानीय समुदायका वास्तविक समस्याहरूलाई उठान गर्दै उनीहरूका आवाजलाई जिम्मेवार तरिकाले प्रस्तुत गर्न रेडियोकर्मीहरुलाई शुभकामना दिन चाहान्छु, उहाँले भन्नुभयो यो तालिम अवसर हो, यसले प्रस्तोतालाई थप जिम्मेवार बनाउन मद्धत मिल्ने छ ।
कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ अकोरावका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणी रेग्मी, शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतम, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावत, पत्रकार मिना बुढाथोकीले बोल्दै कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम भनेको के हो र यो कसरी प्रभावकारी ढंगले उत्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
सामुदायिक रेडियो सूचनाको माध्यम मात्र नभएर समाजको परिवर्तनका लागि एक प्रभावशाली माध्यम भएकाले सामाजिक उत्तरदायीत्वलाई वहन गर्दै रेडियोकर्मीहरुले काम गर्नुपर्ने उहाँहरुको भनाइ छ । मंगलबार सम्म सञ्चालन हुने तालिमको पहिलो दिन रेडियो कार्यक्रम के हो ? यसको महत्व बारेमा जानकारी तथा सामुहिक छलफल संगै रेडियो कार्यक्रमका प्रकार, यसको प्रयोग गर्ने तरिकाका तथा रेडियो कार्यक्रम र अन्य कार्यक्रमको फरकपनका बारेमा जानकारी, छलफल एवम् अनुभव आदानप्रदान गरिएको प्रशिक्षक बुद्धि पुनले जानकारी दिनुभयो ।
यस्तै मंगलबार रेडियो कार्यक्रमको स्कृप्ट लेखन, भाषा, शब्द छनौट, यसको तरिका र महत्व, रेडियो कार्यक्रमको आचारसंहिता, आधारभूत पत्रकारिता र रेडियो कार्यक्रमसंगको तादम्यता एवम् रेडियो कार्यक्रम र प्रविधिसँगको संयोजनका विषयमा अभिमुखिकरण गरिने उहाँको भनाइ छ ।
शारदा मिडिया संगमका उपाध्यक्ष रमेश कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहसचिव मनवीर बस्नेत लगाएत सहभागि हुनुभएको थियो भने कार्यक्रमको सहजीकरण रेडियो राप्तीका प्रशासकीय प्रमुख शिवलाल डाँगीले गर्नुभएको थियो ।