दशैँमा घर फर्किन चिटिक्क पारिए ग्रामिण सडक

बर्षमा एकदिन आउने चाड मनाउन गाउँघर जाने उत्साहित छन् । सार्वजनिक सवारीसाधनमा भिडभाड पनि उस्तै छ । यस्तो अवस्थामा जिल्लाका स्थानिय तहले पालिकाको मुकामबाट वडा हुदैँ गाउँसम्म जाने सडक मर्मतसम्भार गरेर चिटिक्क पारेका छन् । चाडपर्व मनाउन गाउँघर फर्कदा कुनै समस्या नहोस् भनेर नागरिकको सहजताका लागि पालिकाले असोजको पहिलो साता देखी नै सडकमा झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने लगाएत मर्मत सम्भारका काम गरेका छन् ।

सल्यान २२ असोज ।

दशैँ आएसँगै काम विशेषले घर बाहिर गएकाहरु घर फर्किनेको लर्को छ । अध्ययन, व्यापार व्यवसाय गर्न तथा रोजगारीका लागि जिल्ला बाहिर गएका तथा जिल्लाभित्रै पनि गाउँबाट बजार झरेकाहरु दैनिकजसो गाउँ फर्किनेको संख्या बढ्दो छ । जिल्ला भित्रिने मात्रै नभएर सदरमुकाम खलंगा सँगै श्रीनगर, थारमारे, सल्लीवजार लगाएतका बजारक्षेत्रबाट गाउँघर फर्किनेको भिड पनि उस्तै छ ।

बर्षमा एकदिन आउने चाड मनाउन गाउँघर जाने उत्साहित छन् । सार्वजनिक सवारीसाधनमा भिडभाड पनि उस्तै छ । यस्तो अवस्थामा जिल्लाका स्थानिय तहले पालिकाको मुकामबाट वडा हुदैँ गाउँसम्म जाने सडक मर्मतसम्भार गरेर चिटिक्क पारेका छन् । चाडपर्व मनाउन गाउँघर फर्कदा कुनै समस्या नहोस् भनेर नागरिकको सहजताका लागि पालिकाले असोजको पहिलो साता देखी नै सडकमा झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने लगाएत मर्मत सम्भारका काम गरेका छन् ।

वर्षा रोकिएको र दशैँमा घर फर्किनेलाई सास्ती नहोस् भनेर केही स्थानीय तहले टेन्डर गरेर सडक मर्मत गरेका छन् भने केहीले आफ्नै डोजर र जेसीभी प्रयोग गरेर क्षति पुगेका ग्रामीण सडक मर्मत गरेका हुन् । पहिलो चरणमा स्थानीय तहले पालिकाको केन्द्रदेखि वडासम्म जोडिने मुख्य सडक मर्मतलाई प्राथमिकता दिए भने त्यसपछि घनाबस्ती जोडिने भित्री सडक मर्मतमा प्राथमिकता दिएको जनाएका छन् । यो पटक बर्खामा अवरुद्ध सडक पनि सुचारु भएका छन्

जसले गर्दा केही दिन अघिसम्म गाडीमा आउजाउ गर्दा सास्ती हुने र सडक अवरुद्ध हुँदा लामो समय हिड्न बाध्य हुँदै आएका ग्रामीण क्षेत्रका स्थानीय अहिले घर नजिकैसम्म गाडीमा पुग्न थालेका छन् । धमाधम मर्मतपछि लामो समयदेखि अवरुद्ध सडकमा गाडी गुड्न थालेपछि अहिले दशैँ तिहार मनाउन घर फर्किने र उपचारका लागि बाहिर लैजान पर्ने बिरामीलाई धेरै राहत भएको छ ।

वर्षाले क्षति पुगेको सडक स्थानीय तहले मर्मत गरेपछि दार्मा गाउँपालिकामा पर्ने मौलाहाले–फारुला–दार्माकोट सडकमा यात्रा गर्न सहज भएको स्थानिय ३८ वर्षीय रत्नबहादुर बस्नेतले बताउनुभयो । घरबाट बाहिर आउजाउ गर्नुपर्दा गाडी चल्ने स्थानसम्म झन्डै दुई घन्टा हिड्नुपर्नेमा अहिले घर नजिकैसम्म गाडीमा जान सकिने उहाँको भनाइ छ ।

सडक मर्मत कार्यले वर्षाको भेलले बगाई ल्याएको ढुंगामाटोका कारण बेलाबेलामा सडक अवरुद्ध हुने र हिलाम्मे सडकमा फसेका गाडी धकेल्नु पर्ने बाध्यताको अन्त्य भएको माझखर्क स्थानिय पुर्णबहादुर रोकाले बताउनुभयो । सम्बन्धित निकायले सडक मर्मत गरेपनि दिगो हुने सम्भावना नभएकाले बेलाबेलामा सडकको मर्मतसम्भार सँगै स्तरोन्नति गरिनुपर्ने उहाँको भनाइ छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बर्षातका कारण अवरुद्ध भएका प्रायः सबै सडकको मर्मतसम्भार गरिएको बताउनुभयो । ‘बर्षातले क्षति पुगेको कपुरकोट–धनवाङ–गाडापानी हुदैँ फलाबाङ जोड्ने सडक मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ, यस सडकमा बर्षातले बढी क्षति गरेको थियो, रिम, सिन्वाङ, गर्पा लगाएतका सबै क्षेत्रमा रहेका सडकको मर्मतसम्भार भैसकेको छ’ उहाँले भन्नुभयो ‘चाडपर्वमा नागरिकलाई सहज होस् भन्ने हाम्रो ध्येय हो ।’

जिल्लाका सबै पालिकाले दशैतिहार लक्षित सडक मर्मतसम्भार गरेका छन् । केहीमा मर्मतको काम सकिएको छ भने केही पालिकामा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस