सल्यान, ३० असोज ।
कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री सुरेश अधिकारीले बिकास र समृद्धिका लागि प्रहरीको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । ६९ औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार कार्यालय परिसरमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘शान्तिविना विकास हुँदैन, जहाँ विकास छैन त्यहाँ शान्ति पनि हुँदैन, त्यसैले प्रहरीको साथ र सहयोग बिना बिकास र समृद्धिका कार्य संचालन गर्न असम्भव छ ।’
मन्त्री अधिकारीले शान्ति सुरक्षा मजबुत नहुदा देशको शिक्षा र स्वास्थ्य लगाएत सकारात्मक परिवर्तनका कुनैपनि कार्य संचालन हुन नसक्ने भएकोले प्रहरीको भुमिका महत्त्वपूर्ण भएको बताउनुभयो । ‘६९ बर्ष पुगेको नागरिक वृद्ध हुदै जान्छ तर ६९ बर्ष पुगेको प्रहरी अझै जवान हुदै आएको छ, सेवा, सुरक्षामा परिस्कृत भएर सेवा दिदै आएको छ’ उहाँले भन्नुभयो ‘म शारदा नगरपालिकाको नगरप्रमुख भएकै अवस्थामा पनि बालविवाह न्यूनीकरण गर्न प्रहरी संग सहकार्य गरेर काम गरेको अनुभव छ ।’ नेपाल प्रहरीले गरेका सबै काम सधैं प्रशंसायोग्य रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले बिकास निर्माण देखि समाज परिबर्तनका हरेक क्षेत्रमा प्रहरी संगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले अपराध न्यूनीकरण गर्न देखि शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको अग्रनी भुमिका रहेको उल्लेख गर्नुभयो । जनतासंगै बसेर प्रहरीले काम गर्दै आएकोले प्रहरी सधै जनताको साथमा रहेको उहाँको भनाइ छ । सिमित स्रोत र साधनका बाबजुद प्रहरीले प्रसंशायोग्य काम गरेको बताउदै उहाँले हरेक कालखण्डमा प्रहरीको भुमिका र दायित्व महत्त्वपूर्ण भएको बताउनुभयो ।
यस्तै उद्योग बाणिज्य संघ सल्यानका वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापाले नागरिक पनि बर्दी बिनाको प्रहरी भएकाले प्रहरीसंगै सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको बताउनुभयो ।
‘प्रहरी राज्यको सुरक्षाप्रदायक हो, सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरीको हो’ उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सहित ३५ वटै युनिटबाट प्रहरीले सेवा दिदै आएको छ ।
‘साइबर सुरक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ संचालन भएको कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, सबै सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक घनश्याम सुनारले गर्नुभएको थियो ।