सल्यान, ३ कार्तिक ।
बडादशैँ अघिसम्म उच्च रहेको सल्यानको कपुरकोटको तरकारीको भाउ अस्थिर बनेको छ । शहरबजारमा बसोबास गर्ने अधिकांश नागरिक दशैँ मनाउन गाउँघर फर्केसँगै वजारमा तरकारीको खपत कम हुदा मुल्यमा पनि गिरावट आएको हो । वजारक्षेत्रमा बस्ने शिक्षक, बिद्यार्थी, व्यापारी देखी मजदुरसम्म अधिकांश चाडपर्व मनाउन गाउँघर फर्केका छन् । जसले गर्दा तरकारीको कारोवार कम हुदा कपुरकोटको बेमौसमी तरकारीको भाउमा पनि गिरावट आएको हो ।
दशैँअघिसम्म प्रतिकिलोकै १४० रुपैँया थोक मुल्यमा बिक्री भएको टमाटर शुक्रवार ७० रुपैँया प्रतिकिलोमा बिक्री भएको छ । करिब दुई साताको अवधिमा टमाटरको थोक मुल्य आधाले घटेको छ । टमाटर मात्रै होइन्, कपुरकोट हाटवजारमा थोकमा बिक्री हुने प्रायः सबै तरकारीको मुल्यमा गिरावट आएको छ । दशैँअघिसम्म ११५ रुपैँया प्रतिकिलोमा बिक्री भएको फूलगोभि अहिले घटेर ६० रुपैँयामा कारोबार भएको छ ।
यस्तै १०५ रुपैँया प्रतिकिलोमा कारोबार भएको मोटो खुसी अहिले ७५ रुपैँया प्रतिकिलो, प्रतिकिलो ११५ रुपैँयामा कारोबार भएको सिमी अहिले ६० रुपैँया, प्रतिकिलो २० रुपैँयामा कारोभार भएको मुला १५ रुपैँयामा, प्रतिकिलो ६० रुपैँयामा कारोबार भएको कागति ५० रुपैँयामा, ५५ रुपैँयामा कारोवार भएको तितेकरेला ५० रुपैँयामा, १४० रुपैँया प्रतिकिलोमा बिक्री भएको राज्मासिमी ८० रुपैँया र प्रतिकिलो १६५ रुपैँयामा बिक्री भएको धनिया १२० रुपैँयामा कारोवार भएको कपुरकोट कृषि उपज वजार संचालक समितिले जनाएको छ ।
पछिल्लो दुई सातायता तरकारी हाटवजारमा बन्दागोभि, भेडेँखुर्सानी, अकबरे खुर्सानी, काँक्रो लगाएतका तरकारीको भाउ भने स्थिर जस्तै छ । कपुरकोट कृषि उपज वजार संचालक समितिका अध्यक्ष तिलक शर्माले हाटवजारमा तरकारीको भाउ केही तलमाथि हुनुलाई अस्वभाविक मान्न नहुने बताउनुभयो । सोह्रश्राद्धा देखी दशैँको बेलासम्म उच्च माग भएको तरकारीको हाल माग केही कम भएपनि तिहार छठ जस्ता पर्व आउन थालेकाले क्रमिक बढ्ने उहाँको भनाइ छ ।
‘केही महिना अघिसम्म २५/३० रुपैँया प्रतिकिलोमा बेचेको टमाटर अहिले ७० रुपैँयामा बिक्री भएको छ, गत बर्ष १०/१२ रुपैँयामा बिक्रि नभएको बन्दागोभि अहिले ३० रुपैँया प्रतिकिलोमा बिक्री भएको छ, तरकारीको वजारभाउ सधैँ अस्थिर नै हुन्छ’ उहाँले भन्नुभयो ‘दशैँअघिको मुल्यलाई हेर्दा भाउ केही तलमाथि भएको छ, तर किसानको लागत नै नउठ्ने गरेर भाउ घटेको छैन्, अहिले कै मुल्यमा बेच्दा पनि किसानलाई फाइदा नै हुन्छ, नोक्सानी हुदैन् ।’
सरकारले तरकारीको बजारमुल्य निर्धारणको मापदण्ड तय गर्न निति नबनाउदा भाउ घटबढ भएको उहाँको भनाइ छ । ‘सरकारले निति नै बनाएको छैन्, कुन आधारमा तरकारीको भाउ कति तोक्ने ? मापदण्ड नै केही छैन्, अहिलेसम्म त पालिकाकै पहलले गर्दा किसानले एकीकृत रुपमा तरकारी बेच्न पाएका छन्, तर मुल्य निर्धारणमा समस्या छ’ उहाँले भन्नुभयो ‘तरकारीलाई २÷४ दिन होल्ड गर्दा कुहिएर खेर जाने भएकाले व्यापारीले भनेकै मुल्यमा बेच्नुपर्ने बाध्यता छ ।’
अध्यक्ष शर्माले मुख्य सिजनमा हाटवजार लागेको दिनमा मात्रै ६० लाख बढीको तरकारी बिक्री भएको भएपनि अहिले तरकारीको उत्पादन घटेकाले हाटवजारको दिनमा करिब २० लाखको तरकारी बिक्री हुने गरेको बताउनुभयो । ‘तरकारीको उत्पादन हुने क्षेत्र कम हुदा तरकारी कम उत्पादन भएको हो, नत्र यो बर्ष बजार भाउले त राम्रो साथ दिएको छ’ उहाँले थप्नुभयो ‘तराई क्षेत्रमा तरकारी उत्पादन नभएसम्म कपुरकोटमा हाटबजार चलिरहन्छन्, मंसिरसम्म संचालन हुन्छ भन्ने आँकलन छ ।’
गत सिजनमा मात्रै कपुरकोट क्षेत्रबाट ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया किसानले हात पारेका थिए । कपुरकोट क्षेत्रका करिब ३२ सय घरधुरीले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । यहाँको तरकारी दाङ, वुटवल, नेपालगन्ज देखी धनगढी सम्म निर्यात हुने गरेको छ ।