सल्यान, १५ कात्तिक ।
सल्यानको श्रीनगरमा रहेका पेट्रोल पम्पमा पेट्रोल छैन । तिहारको मुखैमा श्रीनगरमा रहेका दुबै पेट्रोल पम्पमा पेट्रोल नहुदा नागरिकले मार खेपिरहेका छन् । श्रीनगरमा रहेको
खैराबाङ्गी माई पेट्रोलियम पम्प र शारदा आयल ब्यापार सेवामा अहिले पेट्रोल छैन ।
चाडपर्वको बेला सवारीसाधन बढी गुड्ने र पेट्रोलको खपत पनि बढी हुन्छ तर पेट्रोल पम्पले नियमित पेट्रोल आपूर्ति नगर्दा त्यसको मार सर्वसाधारण नागरिकले खेपेका छन् । अहिले पेट्रोल पम्पमा पेट्रोल छैन । तर पेट्रोल पम्प नजिकैमा किराना पसलमा पेट्रोल पाइनुले प्रश्न चिन्ह खडा गरेको छ । शितलपाटीमै किराना तथा नास्ता पसलमा पेट्रोल जति पनि, जहिले पनि पाइन्छ । खलंगा, साहुटोल, लान्ति बजार देखि सांगार सम्म पनि बोतलमा पेट्रोल पाइन्छ ।
बोतलमा पाइने पेट्रोलको मुल्य ग्राहक अनुसार १९० देखि २२० रुपैयाँ प्रतिलिटर सम्म पर्छ ।
स्थानीय धुर्ब वलीले श्रीनगरका पेट्रोल पम्पमा प्राय: पेट्रोल नपाइने गरेको बताउनुभयो । ‘यहाँ पेट्रोल हुँदैन, चाहिएको बेलामा जर्किनमा राकेको, बोतलमा राखेको पेट्रोल किराना पसलावाट किन्नुपर्छ, पम्पमा नहुने पेट्रोल बोतलमा कसरी बिक्री हुन्छ, यसमा अनुगमन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो । अर्का स्थानीय बिशाल केसीले पम्पमा पेट्रोल नहुदा महंगो मुल्यमा कम गुणस्तरको बोतलको पेट्रोल किन्नु परेको बताउनुभयो ।
यता पेट्रोल पम्प संचालकले भने पम्पमा आएको पेट्रोल ३ दिनमै सकिने गरेको जनाएका छन् । खैराबाङ्गी माई पेट्रोलियम पम्पका संचालक भुवन कुमार राईले कात्तिक ९ गते आएको पेट्रोल ११ गते सकिएको बताउनुभयो । उहाँले अब तिहार पछि कार्यालय खुलेमात्रै पेट्रोल आउने बताउनुभयो । एकपटकमा २० हजार लिटर आउछ,१६ हजार डिजेल हुन्छ, खैराबाङ्गी र शारदामा ८/८ हजार डिजेल जान्छ, बाकी ४ हजार पेट्रोल एकपटक आएको खैराबाङ्गीमा र अर्कोपटक आएको शारदामा झारिन्छ, तर पेट्रोल आएको ३ दिनमै सकिन्छ उहाँले भन्नुभयो ।
एकैपटक धेरै पेट्रोल नआउने भएकाले समस्या भएको उहाँको भनाइ छ । पेट्रोल बाट चल्ने सवारीसाधनको संख्या बढेकाले पनि पेट्रोल अभाव भएको पम्प संचालक दाबी गर्छन् ।