कपुरकोटमा तरकारी बजार : ढुवानीका लागि कृषि एम्बुलेन्स, भण्डारका लागि कोल्डस्टोर !

उहाँले तरकारी बिक्रि नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नपर्ने बाध्यताको अन्त्य गर्नका लागि कृषि एम्बुलेन्स र कोल्डस्टोर सञ्चालन गरिएको बताउनुभयो ।

सल्यान, २२ कात्तिक ।

बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोट क्षेत्रमा कृषि एम्बुलेन्स र कोल्डस्टोर सञ्चालन गरिएको छ । किसानले उत्पादन गरेको तरकारी खेतबारी देखी हाटवजार हुदैँ वजारसम्म लैजान दुई वटा कृषि एम्बुलेन्स र तरकारीको भण्डारका लागि १० मेट्रिक टन क्षमता भएको कोल्डस्टोर निर्माण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यान र कपुरकोट गाउँपालिकाको आर्थिक सहयोगमा कृषि उपज बजार सञ्चालक समिति कपुरकोट मार्फत एक/एक वटा कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

यस्तै नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको साझेदारीमा सञ्चालित नवीकरणीय उर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत कपुरकोट गाउँपालिकाको सहकार्यमा ५० लाख अनुदानमा उत्पादित तरकारी भण्डारण गर्न विद्युत् तथा सोलारबाट चल्ने कोल्डस्टोर कपुरकोट वजारमा निर्माण गरिएको हो ।

कपुरकोट गाउँपालिका बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विगतदेखि परिचित छ । यसक्षेत्रका करिब ३२ सय किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । यससिजनको हालसम्म मात्रै कपुरकोट क्षेत्रका किसानले ४३ करोड ९६ लाख रुपैँया बढीको ताजा तरकारी र फलफूल विक्री गरेका छन् । कपुकोट क्षेत्रमा कृषि एम्बुलेन्स र कोल्डस्टोरको विगत देखी नै माग भैरहेको थियो ।

हाटबजार परिसरमै कोल्डस्टोर निर्माण भएपछि तरकारी उत्पादन गर्ने किसान तथा बाहिरी जिल्लाबाट तरकारी खरिद गर्न आउने व्यापारीलाई धेरै राहत भएको छ । कपुरकोटमा मंगलबार र शुक्रबार गरी सातमा दुई दिन हाटबजार संचालन हुन्छ । कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले कपुरकोटमा सञ्चालन भएको कृषि एम्बुलेन्स र कोल्डस्टोरले किसान र व्यापारी दुवैलाई सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘किसानले कपुरकोटमा मंगलबार र शुक्रबार दुई दिन लाग्ने हाटवजारमा तरकारी बिक्रि गर्न ल्याउँछन्, कहिलेकाही धेरै भएका बेला उनीहरुले बिक्रि गर्न ल्याएको तरकारी त्यत्तिकै खेर जाने गथ्र्यो, कुहिएर जानुभन्दा किसानले सस्तोमा तरकारी बिक्रि गरे घर फर्कन्थे, अब उनीहरुले हतार गरी तरकारी बिक्रि गर्नु पर्दैन, बिक्रि नभएको तरकारी किसानले एक/दुई दिनसम्म कोल्डस्टोरमा राखेर बिक्रि गर्न सक्छन्, ।’

कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, रिम र बगाले गरी तीन स्थानमा छुट्टाछुट्टै दिनमा हाटबजार लाग्ने भएकाले खरिदकर्ताले किनेर ल्याएको तरकारी भण्डारणसमेत गर्न पाउने उहाँको भनाइ छ । हाटवजार सञ्चालक समितिले बनाएको कार्यविधि अनुसार अहिले कोल्डस्टोर सञ्चालन भैरहेको बताउँदै उहाँले पालिकाले आफ्नै कार्यविधि बनाउन थालेकाले त्यसपछि थप सजिलो हुने बताउनुभयो ।

कोल्डस्टोर निर्माण गरे पनि किसानले हाटबजारमा बिक्री गर्न ल्याएका तरकारी व्यवसायी र कृषि एम्बुलेन्स मार्फत धमाधम बाहिर गइरहेकाले अहिलेसम्म स्टोर गर्न नपरेको उहाँको भनाई छ । अहिले निर्माण गरेको कोल्डस्टोर सबै किसानका लागि पर्याप्त नभए पनि हाटबजारमा बिक्रि नभएका तरकारी राखेर किसानले अर्को दिनमा बिक्रि गर्न पाउने र माग बढेको बेला पनि बिक्रि गर्न सक्ने कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले तरकारी बिक्रि नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नपर्ने बाध्यताको अन्त्य गर्नका लागि कृषि एम्बुलेन्स र कोल्डस्टोर सञ्चालन गरिएको बताउनुभयो । व्यापारीले एकै पटक धेरै लान नसकेका तरकारी एक/दुई दिनका लागि भण्डारण गरेर राख्न, विपदमा सडक अवरुद्ध भएका बेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन यसको महत्व भएको उहाँको भनाइ छ ।

गत सिजनमा मात्रै कपुरकोट क्षेत्रबाट ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैँया किसानले हात पारेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित