फलोअप समाचार : उच्च बस्तीका घर–घरमा खानेपानी

‘विगतमा खानेपानी ल्याउन डोकोमा गाग्री बोकेर २ घण्टा तल जानुपथ्र्यो’ विगत सम्झदैँ उहाँ भन्नुहुन्छ ‘अहिले घरैमा पानी आउँछ, पानीका दुःख गए ।’

सल्यान, २३ कात्तिक ।

सल्यानको शारदा नगरपालिका–९ नयाँबस्तीका दली थापाको घरैमा खानेपानीको धारा छ । उहाँ खानेपानी ल्याउन कुवा वा खोला जानुपर्दैन् । आँगनको ढिलैमा भएको धारामा पानी आउने भएपछि उहाँलाई घरपरिवारको लागि, बस्तुभाउलाई खुवाउन, लत्ताकपडा धुन र करेसाबारीमा सिँचाई गर्न सजिलो छ । ‘विगतमा खानेपानी ल्याउन डोकोमा गाग्री बोकेर २ घण्टा तल जानुपथ्र्यो’ विगत सम्झदैँ उहाँ भन्नुहुन्छ ‘अहिले घरैमा पानी आउँछ, पानीका दुःख गए ।’

उहाँकै छिमेकी डुप्कली थापाको घरमा पनि खानेपानीको धारा छ । विगत जस्तो उहाँलाई ग्रामी, ड्रम, जर्किनमा पानी संकलन गर्नुपर्दैन् । ‘एक बर्ष पहिले त आकाशबाट पानी पर्दापनि गाग्री, जर्किन, ड्रममा घरको छानाबाट झरेको पानी संकलन गर्थिम, कपडा धुने, शौचालय जाने, बस्तुभाउलाई खुवाउने, भाडाँ माझ्ने पानी त्यही प्रयोग गर्थिम’ पुराना दिन सम्झदैँ उहाँले भन्नुभयो ‘अहिले घरैमा धारा छ, पानी नै सबथोक हो भन्नुपर्दैन्, चाहिएजति घरैमा भर्न पाइन्छ ।’

दली र डुप्कली जस्तै लिला रेउले पनि घरैमा खानेपानी आएकोमा मख्ख हुनुहुन्छ । विगतमा यस भेगका तीन गाउँ नयाँ बस्ती, सानिगारे र ढिरुवाका ७१ घरमा खानेपानीको चरम अभाव थियो । खानेपानीको अभावमा घण्टौ हिडेर बोतल, जर्किन, गाग्री लगायतका भाँडामा पानी बोक्नुपर्ने बाध्यता थियो । मध्यरातको समयमा पानीकै लागि गाउँ देखि करिब २ घण्टाको बाटो हिडेर पधेरोसम्म पुग्नु पथ्र्यो । २०८० साउन १५ गते सल्यान टुडे डटकममा गाउँमा अझै खानेपानीको अभावः खानेपानीकै लागि सधै ‘झगडा’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । ‘त्यो बेला मध्यरातमै पधेरो पुग्दा समेत पालो नपाईने जस्ता समस्या भोक्दै आएका थियौँ, अहिले लिफ्ट प्राविधिबाट घर–घरमा धारा आएपनि सजिलो भएको छ’ खुसी हुदैँ उहाँले भन्नुभयो ।

खानेपानीको अभावकै कारण छट्पटी बेहोर्न बाध्य यस बस्तीका बिद्यार्थीले बढी मार बेहोर्नु परेको थियो । पहिले अधिकाशं समय पानी बोक्दैमा खर्चदै आउनुभएका बिद्यार्थी अम्बरसिंह थापाले अहिले पढ्न, लेख्न पर्याप्त समय भएको बताउनुभयो । ‘पहिले त पढाई भन्दा पानीकै चिन्ता हुन्थ्यो’ उहाँले भन्नुभयो ‘अहिले घरमै पानी आएपछि सरसफाइ गर्न सजिलो भएको छ, समयको वचत भएको छ ।’

मानवबस्ती देखी करिब २ किलोमिटर तल हरलेखोलामा रहेको पानी लिफ्ट मार्फत झण्डा हानेको डाँडामा तानेर सबैका घरमा खानेपानी वितरण गरिएको छ । अहिले तीन गाउँका ७१ घरमा खानेपानी पुगेको छ । खानेपानीकै लागि चरम दुःख बेहोर्दै आएका तीन बस्तीको समस्यालाई सम्बोधन गर्न २०७४ साल देखी नै पहल भएपनि मुहान विवादका कारण कार्यान्वयन हुन सकेको थिएन् ।

२०८१ कार्तिकमा सम्पन्न गर्ने गरी कर्णाली प्रदेश सरकारको बहुबर्षिय योजना अन्र्तगत २ करोड १५ लाख रुपैँयामा लिफ्ट खानेपानी योजनाको काम २०८० बैशाखमा सम्झौता भई सुरु भएको थियो । तोकिएको समयावधि अगाडी नै काम सम्पन्न भएपछि स्थानियले खुसीका साथ पानी उपभोग गरिरहेका छन् ।

यता शारदा नगरपालिकाले सबै नगरवासीलाई खानेपानीको पहुँचमा पु¥याउने उद्धेश्यका साथ बृहत खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ । खानेपानीलाई प्राथमिकतामा राखेर विभिन्न निकायको सहयोगमा नगरपालिका भित्र विभिन्न आयोजना मार्फत काम गरिरहेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं. १, ४, ५, ८, ९, १० र ११ को लागि बृहत खानेपानी आयोजना अन्र्तगत १ अर्ब १० करोड रुपैँयाको डिपिआर अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

‘संघिय सरकारको सहयोगमा साढेँ १३ करोड रुपैँयाको खानेपानी योजना वडा नम्बर १४ र १५ को लागि छ, त्यति नै बराबरको योजना ६ नम्बर वडामा छ, साढेँ ८ करोडको खानेपानी योजना १३ नम्बर वडामा सम्पन्न हुन लागेको छ, १२ नम्बर वडामा पनि खानेपानी योजना चलिरहेको छ, यो बर्षपनि एक करोड रुपैँया विनियोजन गरेर १३ नम्बर वडाको सांगारमा योजना टेण्डर प्रक्रियामा लैजान लागेका छौँ’ उहाँले भन्नुभयो ‘यहाँका नागरिकले विगतमा जसरी खानेपानीकै लागि दुःख नपाउन भन्ने हाम्रो ध्येय हो ।’

 

प्रतिक्रिया दिनुहोस