छत्रेश्वरी गाउँपालिकामा भोली देखी त्रैमासिक भत्ता वितरण गरिने

सल्यान, २६ कात्तिक ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएपछि लाभग्राहीलाई सहज भएको छ । स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ताका कार्यक्रमलाई कार्यान्वयन गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा प्रायः लामो दूरीको यात्रा गर्नुपर्ने, बैंकमा धेरै समयसम्म लाइनमा बस्नुपर्ने जस्ता जटिलताका कारण असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कठिनाइ भोग्नु परिरहेको थियो । छत्रेश्वरी गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा लाभग्राहीलाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि सहजता थपिएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को त्रैमासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले यही कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म वडा कार्यालयहरुबाट वितरण गर्ने गरी चालु आर्थिक वर्षको त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको तालिका सार्वजनिक गरेको छ । जस अनुसार कार्तिक २७ गते छत्रेश्वरी–१ को दमाचौरमा, २८ गते वडा नं. २ को दहखोला, २९ गते वडा नं. ४ को जयचौर, ३० गते वडा नं. ७ को राङ्सीमा, मंसिर २ गते वडा नं ५ को लेखपोखरा र ३ गते वडा नं. ३ को मूलखोलामा बैंकसहितको टोलीले भत्ता वितरण गर्नेछ ।

वडा–वडामा बैंकिङ प्रविधिबाट भत्ता वितरण गरिरहेको जनाउँदै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले अशक्त, अपांगता भएका नागरिकलाई गाउँपालिकाले सहज सेवा सुविधा दिन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र यस कार्यबाट नागरिकमा स्थानीय सरकारको अनुभूति हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस