सल्यान, २८ कात्तिक ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको दुरुपयोग गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताउनुभएको छ । सूचनाको हकको कुनै सिमा नहुने र यसलाई हल्का रुपमा पनि लिन नहुने बताउदैँ उहाँले सम्बन्धित निकायबाट पाएको सुचनाको दुरुपयोग गरेको पाईएमा कारबाही गर्ने बताउनुभएको हो । राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्लास्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, संचारकर्मी तथा सरोकारवाला संग मंगलबार खलंगामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
‘सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ, सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्छ, सूचना लुकाउन पाईदैन्, तर सम्बन्धित निकायबाट पाएको सुचनाको दुरुपयोग पनि गर्न पाइदैन्’ उहाँले भन्नुभयो ‘देशभरका नागरिकले मागेअनुसारको सूचना पाउनै पर्छ, कुनै व्यक्तिले सूचना मागेर ब्ल्याक मेलिङ गर्नसक्ला र ? यो कानुनी राज्य हो, यदि कसैले सूचनाको दुरुपयोग गर्छ भने कारवाही गरौं, प्रमाण लिएर आउनुहोस्, कानुन भन्दा बाहिर कोहि जानु हुँदैन ।’
सूचनाको हक र मिडियामा लेख्ने सूचना फरक भएको उहाँको भनाइ छ । ‘संसारभरिमा नै रहेका सार्वजनिक निकायले यसै सुचना नदिने भएकाले सूचनाको हक सम्बन्धि कानुन चाहिएको हो, सूचना आयोग चाहिएको हो, यदि सुशासन र पारदर्शिता आफैमा कायम भए, ऐन नै नचाहिने हो’ उहाँले थप्नुभयो ‘जिल्लास्तरमा र स्थानीय तहमा गोप्य राख्नुपर्ने सूचना केही छन् जस्तो मलाई लाग्दैन् ।’ उहाँले जुन उद्देश्यले सूचना मागेपनि सुचना दिनुपर्ने सम्बन्धित निकायको दायित्व भएको बताउनुभयो ।
‘सार्वजनिक निकायको सूचना नागरिकले कानुनमा व्यवस्था भएअनुसार प्राप्त गर्न पाउनुपर्दछ, संविधानमा पनि सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ, यसले भ्रष्टाचार, अनियमितता उजागर गर्न सहयोग गर्छ, आमनागरिकलाई सूचनाको हकका बारेमा बुझाउन आवश्यक छ’ प्रमुख सूचना आयुक्त गुरुङले अघिभन्नुभयो ‘प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्छ, सोही अधिकारीले नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउनुपर्छ ।’
अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले सूचना प्रवाहलाई व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो । ‘मिडिया तथा पत्रकारले मात्रै सूचना माग्नुभएको छ, अझै आमनागरिकले सूचना माग्न थाले के हुन सक्छ ? त्यसैले सुचनालाई व्यवस्थित गरौं र उचित तरिकाले प्रवाह गरौं’ उहाँले भन्नुभयो ‘अधुरो सूचनाले नागरिकलाई ज्ञान भन्दा पनि भ्रम बढी प्रवाह गर्छ, यसमा सजक बन्न आवश्यक छ ।’
यस्तै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सार्वजनिक निकायले सूचना दिने र सूचना पाउने मिडियाले मात्रै हो भन्ने बुझाइले समस्या बनाएको बताउनुभयो । ‘सूचना सबै निकायले दिनुपर्छ, सुचना प्रवाह गर्नुपर्छ, सबैले सूचना माग गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘साँघुरो सोच राखेर सूचना माग्ने र दिने गर्नु हुँदैन, सूचना किन माने, सूचना किन दिने, सूचना कसरी लिने जस्ता अन्यौलता देखिएको छ, यस बारेमा थप स्पष्ट हुन आवश्यक छ ।’ उहाँले दरबन्दी अनुसारको कर्मचारी अभावले एउटै कर्मचारीले धेरै निकायमा काम गर्नुपर्ने, तालिम अभाव लगाएतका कारणले सूचना प्रवाहमा केहि ढिलाइ भएको हुनसक्ने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले सूचना लिने र दिने कार्यलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । नागरिक स्तरबाट सुचनाको हकको बारेमा थाहा नै नभएको र सूचना माग्ने परिपाटी नभएको सन्दर्भमा जिल्लाको पत्रकारिता नागरिक हितकै क्षेत्रमा भएकोले पत्रकार मार्फत नै सम्बन्धित निकायबाट सूचना माग्ने र नागरिक समक्ष पु¥याउने काम गरिएको उहाँको भनाइ छ ।
सो अवसरमा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले पालिकामा भएगरेका गतिविधिको सूचना लिखित तथामौखिक रुपमा उपलब्ध गराउदैँ आएको बताउनुभयो । कहिलेकाही गलत नियत र सोचका साथ जनप्रतिनिधि र कर्मचारीलाई सास्ती र दुःख दिने गरि असम्बन्धित सुचना माग हुने गरेको उहाँको गुणासो छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले केही व्यक्ति तथा समुहबाट अनावश्यक सुचना माग हुदा समस्या हुने गरेको बताउनुभयो ।
सो अन्तरक्रियामा जिल्लास्तरका सबै सरकारी कार्यालय तथा स्थानिय तहका प्रमुख र सुचना अधिकारी सँगै पत्रकारहरुको सहभागिता रहेको थियो । राष्ट्रिय सूचना आयोगका उपसचिव युबराज अधिकारीले सूचना के हो ? सूचना कसरी लिने ? कसरी दिने ? कसले लिने जस्ता विविध बिषयमा प्रस्तुतीकरण राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दिनेश भट्टराईले गर्नुभएको थियो ।