सल्यान, २९ कात्तिक ।
हिजोआज जिल्ला प्रशासन कार्यालय सल्यानमा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र बनाउने तथा नागरिकताको प्रतिलिपि निकाल्नेको अत्याधिक भिड छ । विगतका महिनामा दैनिक ५०÷६० वटा नागरिकता उपलब्ध गराउदैँ आएकोमा छठ पछि सेवाग्राहीको संख्या दोब्बर÷तेब्बरले बढेको छ । प्रशासनको परिसर दिनभर सेवाग्राहीले भरिएको हुन्छ । नेपालमै बसेर केही गर्नुपर्छ भन्ने भन्दा पनि नागरिकता र पासपोर्ट बनाएर विदेश जाने जमात धेरै छ ।
भिडभाडकै कारण कतिपय नागरिकता बनाएर फर्किने गरेका छन् । तर नागरिकता बनाएर पासपोर्ट बनाउनेहरुको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउनुपर्ने भएकाले सेवाग्राहीको भिड देखिन्छ । चाडपर्व मनाएर विदेशिने सोच बनाएका युवायुवति नागरिकता र पासपोर्ट बनाउने लाईनमा व्यस्त छन् । घरको आर्थिक अवस्था कमजोर भएको र रोजगारीको अरु विकल्प नभएकाले विदेशिनुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । प्रशासनिक कामका लागि २/३ दिन लाग्दा नागरिकलाई समस्या मात्रै भएको छैन्, खाँदा बस्दा आर्थिक भार समेत बढेको छ ।
दशैँतिहार अघिसम्म फाटफुट मात्रामा सेवाग्राही आउने जिल्ला प्रशासनमा चाडपर्व सकिएसँगै सेवा लिनेको चाप बढ्दो छ । विगतमा पनि दशैँतिहार पछि प्रशासनमा सेवाग्राहीको भिड नै लाग्थ्यो । प्रशासनका कर्मचारीको व्यस्तताका कारण कतिले सेवा लिए भन्ने तथ्यांक पाउन समेत मुश्किल छ । देश तथा जिल्ला बाहिर बस्नेहरु चाडपर्व मनाउन जिल्ला आउने र यहीँ मौकामा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगाएतको काम एकैपटक
गरेर जाने हेतुले सेवाग्राही आउदा एकैदिनमा सेवा दिन मुश्किल परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
‘इलाका प्रशासन कार्यालय थारमारेमा नागरिकता जारी गर्ने अधिकारी नहुदा त्यहाँको काम रोकिएको छ, जसले गर्दा दश वटै स्थानिय तहका नागरिक जिल्ला प्रशासनमा आउनुपर्ने बाध्यता भयो, अझ एकै व्यक्तिले एकैपटक नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र बनाउदा समय लाग्यो, भिडभाड पनि देखियो’ उहाँले भन्नुभयो ‘जिल्ला कारागारबाट काजमा कर्मचारी ल्याएका छौँ, काम रोकिएको छैन्, तर धेरै सेवाग्राही भएकाले एकैदिनमा पालो आउने सम्भावना कम छ ।’
प्रमुख जिल्ला अधिकारी रेग्मीले विगतका महिनामा भन्दा हाल दोब्बर/तेब्बर बढी सेवाग्राही आउँदा पनि समस्या भएको बताउनुभयो । ‘विगतका महिनामा दैनिक ५०÷६० जना सेवाग्राहीले सेवा लिन्थे, अहिले १५० बढी आउँछन्, नागकिता लिने, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउने तथा नागरिकताकै प्रतिलिपि लिनेको संख्या पनि उस्तै छ, सिमित कर्मचारी भएपनि सेवाप्रवाह निरन्तर भैरहेको छ’ उहाँले भन्नुभयो ‘अहिले १०० बढी नागरिकता दैनिक जारी हुन्छन्, पासपोर्ट, राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या पनि धेरै छ ।’
छठ पर्वअघिसम्म जिल्लामा यति धेरै भिडभाड थिएन् । यही आइतवार देखी जिल्ला प्रशासनमा सेवाग्राहीको भिड थामिनसक्नु भएको छ । अहिले प्रशासनमा सेवाग्राहीको भिडभाड बढी भएकाले गर्नैपर्ने बाहेकका अरु काम लिएर जिल्ला प्रशासन नआउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले अवको एक महिनामै यो भिड कम हुने र सहज रुपमा सेवा लिन अनरोध गर्नुभएको छ ।